धुसेरी वनमा नयाँ नेतृत्वको खोजी  

२०७९ मङ्सिर १७ शनिबार १७:४४:०० मा प्रकाशित

रजहर । धुसेरी सामुदायिक वन उपभोक्ता समूह रजहरको नयाँ कार्यसमिति चयनका लागि भोली (आइतबार) सदस्यलाई डाँकेको छ । 

समूहको ३२ औँ वार्षिक साधारण सभाको निर्णय अनुसार गठित समितिले सर्वसम्मत समिति चयनका लागि उपभोक्ता सदस्यहरुलाई कार्यालय परिसरमा उपस्थित हुन भनेको छ । निर्वाचन समितिका संयोजक जुद्धप्रसाद वाग्लेले आम सहमतिबाट कार्य समिति गठनका लागि उपभोक्ता सदस्यलाई आइतबार बोलाइएको जानकारी दिनुभयो । गतवर्ष समिति चयन भएको छोटो समयमा नै वनका अध्यक्ष वुद्धिप्रसाद पौडेलले राजिनामा दिएपछि उपाध्यक्ष रत्नप्रसाद सापकोटालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको थियो । 

एक वर्ष अघि समिति गठन भएपनि अध्यक्षले राजिनामा दिएको केही समयपछि सचिव, कोषाध्यक्ष र २ जना सदस्यले समेत राजिनामा दिएका थिए । उनीहरु सबैले घरायसी कारण देखाउँदै राजिनामा दिएका हुन् ।  

शुक्रबार सम्पन्न धुसेरी सामुदायिक वनको ३२ औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति गठन गर्नेगरी प्रक्रिया अघि बढाएको छ । अधिकांश पदाधिकारी सहित सदस्यले राजिनामा दिएपछि साधारण सभाले समिति विघटन गरी नयाँ समिति गठन कार्य अघि बढेको कार्यालय सचिव चिन्तामणी चापागाईंले जानकारी दिनुभयो ।