कतार विश्वकप : नकआउट चरणको समीकरण पूरा, आज दुई खेल हुँदै

२०७९ मङ्सिर १७ शनिबार १२:१३:०० मा प्रकाशित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ ।

शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

कतार विश्वकपमा समूह ए बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

समूह बी बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह सी बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह डी बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

समूह ई बाट जापान विजेता र स्पेन उपविजेता, समूह एफ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह जी बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह एच बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।   

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट अर्थात् राउण्ड अफ १६ का खेलहरु सुरु हुँदैछ । शनिबार राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।

राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् ।

यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउदै अघि बढ्ने योजनामा रहेको छ ।