नवनिर्वाचित जनप्रतिनिधिलाई एनसीई नवलपुरद्वारा सुझाब पत्र प्रदान

२०७९ मङ्सिर १६ शुक्रबार १७:३३:०० मा प्रकाशित


गैँडाकोट । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले जिल्लाका नवनिर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यलाई सुझाब पत्र बुझाएको छ ।  शिक्षामा लगानी बढाउन माग गर्दै १६ बुँदे सुझाव पत्र प्रदान गरिएको छ । प्रतिनिधि सभा सदस्य प्रा.डा. शशांक कोइराला, प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सी., रोशन गाहा मगर र पद्मा जि.सीलाइ एनसीई नवलपुरले शिक्षा क्षेत्रको सुधारका लागि सुझाबपत्र दिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरकी अध्यक्ष लक्ष्मी गौतमले सुझाव पत्र पेश गर्नुभएको हो । 

आधारभूत तथा माध्यमिक शिक्षामा व्याप्त निजिकरण तथा व्यापारीकरणको अन्त्य गर्न निजी तथा नाफामुलक बिद्यालयहरुलाई निजि तथा सार्वजनिक गुठीमा परिणत गर्नुपर्ने, जोखिम परिस्थितिमा रहेका बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने सुझाब पत्रमा उल्लेख भएको अध्यक्ष गौतमले बताउनुभयो ।

संविधानले प्रदान गरेको निःशुल्क शिक्षाको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले आफनो कुल बजेटको कम्तिमा २० प्रतिशत लगानी शिक्षामा गर्नुपर्ने, शिक्षालाई जीवन र रोजगारीसंग जोड्दै शौक्षिक बेरोजगारी अन्त्य गर्ने, संविधान र संघियताको मर्म बमोजिम शिक्षक छनौट प्रक्रियालाई स्थानीयकरण गर्ने लगायतका कुरा सुझाब पत्रमा समावेश गरिएको एनसीई नवलपुर अध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो ।