गैँडाकोटले दिन थाल्यो सुत्केरी भत्ता 

२०७९ मङ्सिर १४ बुधबार १५:२१:०० मा प्रकाशित

प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोट नगरपालिकाले सुत्केरीहरुलाई भत्ता दिन थालेको छ । भत्ता स्वरुप गैँडाकोटका सुत्केरीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरेको हो । गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार सुत्केरीहरुलाई भत्ता प्रदान गरिएको हो । 

“सुत्केरी आमा पोषिलो खाना” कार्यक्रममार्फत गैँडाकोट नगरपालिकामा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई ५ हजार सुत्केरी भत्ताको व्यवस्था गरिने नगर उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुरुप उनीहरुलाई रकम उपलब्ध गराउन लागिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

गैँडाकोटमा मात्रै यस आर्थिक वर्षमा (साउनदेखी हालसम्म) १०१ जना सुत्केरी भएको तथ्याङ्क रहेको छ । नगरका दुई स्थान गैँडाकोट नगर अस्पताल र गैँडाकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । यहाँ नगरका मात्रै नभइ अन्य पालिकाबाट समेत सुत्केरी गराउन आउने गरेको पाईएको तथ्याङ्क छ । 

सुत्केरी गराएका मध्ये हालसम्म २९ जनाले सुत्केरी भत्ता लिएका छन् । गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले नगर अस्पतालमा एक समारोहकाबीच सुत्केरीलाई सुत्केरी भत्ता हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो । 

नगर अस्पतालबाट मंगलबार १९ जना र बुधबार ६ जना गरी २३ जनाले सुत्केरी भत्ता लिएको गैँडाकोट नगर अस्पतालका प्रमुख, हेल्थ असिस्टेन्ट पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । नगर अस्पतालमा मात्रै यस आर्थिक वर्षमा (साउनदेखी हालसम्म) ७२ जना सुत्केरी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार कार्तिक महिनामा मात्रै १५ जना सुत्केरी भएका छन् । राजमार्गसँगै जोडिएको अस्पताल रहेका कारण यहाँ अन्य पालिकाबाट समेत सुत्केरी गराउन आउने गरेका छन् । 

त्यस्तै गैँडाकोट स्वास्थ्य चौकीबाट ६ जनाले सुत्केरी भत्ता लिएका छन् । गैँडाकोट स्वास्थ्य चौकीमा यस आर्थिक वर्षमा (साउनदेखी हालसम्म) २९ जना सुत्केरी भएको स्वास्थ्य चौकीका कम्युनिटी नर्स अधिकृत सीता रिजालले जानकारी दिनुभयो । वडा कार्यालयको सिफारिसमा सुत्केरीलाई भत्ता प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो । 

सुत्केरी भत्ताका लागि नगरबाट १० लाख रुपैयाँ विनियोजन गरिएको नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । उहाँले सुत्केरी आमालाई पोषिलो खानाका लागि भत्ता प्रदान गरिएकोले सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । 

नगरका सुत्केरीले नगद पाँच हजार भत्ता बाहेक नेपाल सरकारको थप १८ सय प्राप्त गर्नेछन् । स्वास्थ्य संस्थासम्म आउँदा लाग्ने एम्बुलेन्स खर्च वापत १ हजार र स्वास्थ्य संस्थामा ४ पटक सम्म गर्भ जाँच गराए वापत ८ सय गरी थप १८ सय प्राप्त गर्नेछन् । समग्रमा गैँडाकोटमा सुत्केरी हुनेहरुले ६ हजार ८ सय रुपैयाँ प्राप्त गर्नेछन् । 

साथै यसै आर्थिक वर्षदेखी गैँडाकोट १८ र ३ का गर्भवती महिलाहरुको सुविधाका लागि नगर अस्पतालमा आमा घर सञ्चालन गरि सेवा प्रदान गरिरहेको छ । आमा घरमा एकहप्ता पहिलेदेखी नै बस्ने र सुत्केरी भएपछि पनि बस्न पाउने व्यवस्था गरिएको छ ।