सहकारी विभागलाई राष्ट्र बैंकले पठायो औसत ब्याजदर

२०७९ मङ्सिर १४ बुधबार १३:१३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्र बैंकले बैंकहरुको औसत ब्याजदर सहकारी विभागलाई पठाएको छ । मंसिर १२ गते राष्ट्र बैंकले औसत ब्याजदर पठाएसँगै सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक बस्ने तयारी भएको छ ।

उप समितिको बैठक यसै साता बस्ने र बैंकको औसत ब्याजदर, बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय संघमा आवद्ध संस्था र संघहरुको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, विभिन्न अध्ययन, सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुबाट प्राप्त सुझावको विषमा छलफल गरी सन्दर्भ ब्याजदर निर्धारण समितिमा पेश गर्नेछ ।

राष्ट्र बैंकले पठाएको असोज महिनाको कर्जाको औसत ब्याजदरमा वाणिज्य बैंकहरुको १२.१९ प्रतिशत, विकास बैंकहरुको १४.६२ र लघुवित्तहरुको १४.९७ प्रतिशत रहेको छ ।

सन्दर्भ ब्याजदर निर्धारण समितिले २०७८ फागुन १५ गतेबाट लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरेको थियो । त्यस्तै बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुनुपर्ने निर्णय गरेको थियो । त्यस्तै ऋण लगानीमा व्यक्तीगत तर्फ १ प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

पछिल्लो समयमा बैंकहरुको ब्याजदर बढेसँगै सहकारीको सन्दर्भ ब्याजदर बढाउनुपर्ने माग सहकारीकर्मीले गर्दै आएका छन् । सहकारी खबरबाट