गैँडाकोट ६ मा विद्यालय भवनको शिलान्यास  

२०७९ मङ्सिर १४ बुधबार १२:०६:०० मा प्रकाशित

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट ६ स्थित शिर्जनशिल आधारभुत विद्यालयमा निर्माण हुने तीन कोठे विद्यालय भवनको बुधवार शिलान्यास गरिएको छ । 

गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक सहयोग र समुदायको लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको गैँडाकोट नगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष मदनभक्त अधिकारीले शिलान्यास गर्नुभएको हो । निर्माण गर्न लागिएको भौतिक संरचनाले गरिब तथा विपन्न परिवारका बालबालिकालाई अध्यापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  

गोर्खा वेलफेयर ट्रष्ट नेपालको १६ लाख ५० हजार रुपैयाँ र बाँकी २ लाख ३ हजार ५ सय ४२ रुपैयाँ समुदायको लगानी रहने गरी १८ लाख ५३ हजार ५ सय ४२ रुपैयाँका लागतमा विद्यालय भवन निर्माण गर्न लागिएको हो । 

शिक्षा, स्वास्थ्य, खानेपानी र पुलको क्षेत्रमा काम गर्दै आएको ट्रष्टले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षाकोठाको अभाव देखेपछि तीन कोठे भवन निर्माण गर्न लागेको गोर्खा वेलफेयर ट्रष्ट चितवनका प्रमुख, यरिया वेलफेयर अधिकृत पूर्ण गुरुङले बताउनुभयो । विशेषगरी ब्रिटिस आर्मीले एक दिन बराबरको सहयोग, युकेमा रहेका नेपाली र ब्रिटिस सरकार लगायतले गरेको सहयोग रकमबाट समुदायमा लगानी गर्ने गरेको उहाँले बताउनुभयो ।  

गैँडाकोट ६ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभाष चापागाईंले सहयोगि संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले ट्रष्टसँगै समुदायको लगानी रहने र अपुग रकम नगरपालिकाबाट सम्बोधन हुनेमा विश्वस्त रहेको बताउनुभयो । 

भवन निर्माणका लागि संयोजन गर्नुभएका गोर्खा वेलफेयर ट्रष्टका सदस्य केयरसिं रानाले विद्यार्थीलाई भवनकै कारण अध्ययनमा असहज भएका कारण भवनका लागि आफुले निरन्तर पहल गरेको बताउनुभयो । नवलपुरका ४ स्थानमा विद्यालय निर्माण गर्ने योजना अनुरुप गैँडाकोट १ को नवदुर्गा आधारभुत विद्यालयमा तीन कोठे भवन निर्माण भइसकेको बताउँदै उहाँले अहिले गैँडाकोटको शिर्जनशिल विद्यालय र हुप्सेकोटको बालहित आधारभुत विद्यालयमा भवन बनाइने बताउनुभयो । साथै आगामी दिनमा उच्च शिक्षाका लागि हुप्सेकोटमा नै अर्को १८ कोठे भवन बनाउने गरी काम अघि बढेको बताउनुभयो । 

गोर्खा वेलफेयर ट्रष्टका ईन्जिनियर सुभाष गुरुङले भुकम्प प्रतिरोधात्मक ट्रष्ट सहितको तीन कोठे भवन बन्ने जानकारी दिनुभयो । २०८० को जेठसम्ममा निर्माण कार्य सक्ने योजना रहेको उहाँले बताउनुभयो ।

गैँडाकोट ६ का पूर्व वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले चाईनिजहरुले कामदारहरु बस्न बनाएको भवनलाई विद्यालयका रुपमा स्थापित गरेको विगत सम्झदै अब बन्ने भौतिक संरचनाले अध्यापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा हाल ५२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक शोभा सापकोटा पौडेलले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा गैँडाकोट ६ का वडा सदस्यहरु चन्द्रबहादुर विश्वकर्मा, रणबहादुर दरै, कल्पना परियार लगायतको उपस्थिती रहेको थियो ।