गैँडाकोटबाट बज्न थाल्यो घण्टी

२०७९ मङ्सिर ६ मंगलबार २१:४७:०० मा प्रकाशित


गैंडाकोट । नवलपुर क्षेत्र नं. १ को मतगणना जारी छ । नवलपुरमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी उदाउने लक्षण देखिएको छ । बुलिङटारको मतगणना रहँदा ७ हजार २७७ कुल मतमा रास्वपाले २५६ मत मात्र प्राप्त गरेको थियो । जहाँ काँग्रेसले ३८६७ र एमालेले २६२३ मत प्राप्त गरेका थिए । गैँडाकोटको मत गणना चलिरहँदा रास्वपा अप्रत्याशित तवरले आफ्नो मत बढाइरहेको छ । नेपाली काँग्रेसको भोटबैंकको रुपमा रहेको साविक गँैडाकोट र नेकपा एमालेको राम्रो मानिएको साविक मुकुन्दपुर र अमरापुरीबाट पनि रास्वपाले अग्रता लिएको छ ।

गैँडाकोट १० र १२ काँग्रेसले ११३४,  एमालेले ९१४ र रास्वपाको १३२१ मत रहेको छ । गैँडाकोट ११ र १४ मा काँग्रेसको १०१६, एमालेको ११४० र रास्वपाको १३२५ रहेको छ । गैँडाकोट १ र १६ मा काँग्रेसको ११७८, एमालेको १००१ र रास्वपाको १५३८, गँैडाकोट २ र १५ मा काँग्रेस १०४०, एमाले १०४७ र रास्वपाको १३५६ मत रहेको छ ।


गैँडाकोटका सबै वडा गणना हुँदा काँग्रेससंग मतान्तर हटाउन सकेको खण्डमा देवचुलीमा झन् सजिलो हुने देखिन्छ । रास्वपाको उम्मेद्वार राजन गौतम देवचुलीबाटै भएका कारण पनि मत बढ्ने आंकलन गरिन्छ । गैँडाकोटमा काँग्रेस र एमाले दुबैको मत रास्वपाले काटेको देखिन्छ । घण्टिले गैँडाकोटमा लिएको अग्रताका आधारमा नवलपुर १ को मतपरिणाम रोमाञ्चक हुने देखिएको छ ।