सुटिङ नै भएको छैन ‘पुष्पा २’, कमाइ भने ‘आरआरआर’को भन्दा बढि

२०७९ कार्तिक २४ बिहीबार १२:१२:०० मा प्रकाशित

एजेन्सी : अल्लु अर्जुन दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्ये एक हुन् ।

उनी फिल्ममा आफ्नो दमदार चरित्रका लागि परिचित छन् । गतवर्ष रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’मा आफ्नो भूमिकाबाट दर्शकको मन जितेका थिए । अहिले उनका फ्यानहरू ‘पुष्पा २’ को प्रतिक्षामा छन् ।

वास्तवमा अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’को उत्कृष्ट सफलतापछि यसको सिक्वेलको निकै चर्चा भइरहेको छ ।

चलचित्रको ठूलो मागलाई मध्यनजर गर्दै निर्माताले विदेशी थिएटर अधिकारका लागि ठूलो मूल्य तोकेका छन् । ‘पुष्पा २’का निर्माता यस फिल्मबाट धेरैभन्दा धेरै फाइदा लिन चाहेको देखिएको छ ।

रिपोर्टका अनुसार फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड रुपैयाँभन्दा बढी रकम तोकेका छन् ।

एसएस राजामौलीको ‘आरआरआर’ भन्दा ‘पुष्पा २’ को विदेशी थिएटर अधिकारको मूल्य बढी छ । ‘आरआरआर’ को थिएटर अधिकार ७० करोड भारूमा बिक्री भएको थियो ।

‘केजीएफ २’ ले विश्वभर १२ सय करोड कमाएर अहिलेसम्मकै रेकर्ड तोडेको छ । योसँगै ‘पुष्पा २’ को बारेमा पनि यस्तै सम्भावना देखिएको फिल्म क्षेत्रका पण्डितहरूको धारणा छ ।

आजकल भारतमा मात्र नभएर नेपाल लगायतका अन्य देशमा पनि दक्षिण भारतीय फिल्मको व्यापक क्रेज छ । दक्षिण भारतीय फिल्मको लोकप्रियता विश्वभर बढ्दैछ । ‘पुष्पा २’ ले विदेशमा पनि बम्पर कमाउने अपेक्षा गरिएको छ ।

छिट्टै छायांकन सुरु हुने ‘पुष्पा २’को हालै मात्रै टिजरको सुटिङ पूरा गरिएको छ । फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्डन्ना, फहद फासिल पनि देखिनेछन् ।