नारायणी नदी किनारमा छठ पूजाको तयारी, छठ पर्व विधिवत् सुरु

२०७९ कार्तिक १२ शनिबार १२:२३:०० मा प्रकाशित

चितवन । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत सुरु भएको छ । 

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसवासीको महान् चाड छठ पर्व शुक्रबारदेखि सुरु भएको तराई सामुदायिक सेवा समिति चितवनका पूर्व अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिनुभयो । 

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेहरूले खोला, नाला, नदी, पोखरी, तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन् ।

छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई (खरना) भनिन्छ। खरनाका दिन शनिबारदेखि नै व्रतालुहरूले निराहार व्रत सुरु गर्नेछन् ।

छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ। जसलाइ सँझीया घाटे पनि भनिन्छ। यसपालिका सँझिया घाटे आइतबार परेको तराई सामुदायिक सेवा समिति चितवनका जयकिशोर पाण्डेले जानकारी दिनुभयो ।  

त्यसदिन व्रतालु महिलाहरूले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाइ र भोलि पल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुन्छ ।

शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले तराई मधेसका जिल्लामा छठ पूजाका लागि तयारी तीव्र रूपमा भइरहेको छ । छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन् ।

छठघाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको छ । नारायणी नदी किनारमा छठ पूजाको तयारी चलिरहेको तराई सामुदायिक सेवा समिति चितवनका उप सचिव सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । छठघाटलाई आकर्षक टेण्टपण्डाल र झिलिमिली बत्तीले सजाइएको छ ।

बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङगलो, डालो, सुपली, टोकरी, माटोको कलश, दियो, पुजन सामग्री र प्रसादमा प्रयोग हुने उखु, फलफूल, मिठाइ,  हरियो तरकारी, गहुको पिठो, चिनी, तेल, नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरूको शुक्रबारदेखि नै भिडभाड बढेको छ ।