भूपू सैनिकका तीन संस्थाका संयुक्त साधारण सभा सम्पन्न

२०७९ असोज १२ बुधबार १६:१०:०० मा प्रकाशित

गैँडाकोट । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको १५औं साधारण सभा र भूतपूर्व सैनिक महिला समूहको १३औं साधारणसभा गैंडाकोटमा सम्पन्न भएको छ । 

गैंडाकोट ४ स्थित फेमली क्याफेमा संयुक्तरुपमा भएको कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट सहकारीको उर्वरभुमि रहेको र सहकारीमा सक्षम भएपनि उत्पादनमुखि बन्न नसकेकको बताउँदै उत्पादनतर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । उहाँले भूपू सैनिकले देशको रक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उनीहरुलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो । साथै उहाँले गैंडाकोटको समृद्धिका लागि सबै ईमान्दारिताका साथ लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाले मरोणापरान्त राहत १८ हजार, सुत्केरी सदस्यलाई १ हजार, ८५ वर्षका बृद्ध सदस्यलाई मासिक ५ सय प्रदान गरिने बताउनुभयो । भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष गुरबहादुर थापाले भूपू सैनिक, सेवारत सैनिक र तिनका घरका एकाध परिवारका सदस्यलाई एकतावद्ध गर्न सफल भएको बताउँदै संस्था दुख सुखको साथी रहेको बताउनुभयो ।  भूतपूर्व सैनिक महिला समूहकी कार्यबाहक अध्यक्ष गिता क्षेत्रीले भूपू सैनिक, सेवारत सैनिक र तिनका परिवारका सदस्यलाई लगानी गरी आयआर्जनमा टेवा पु¥याउँदै आएको बताउनुभयो । 

कार्यक्रममा गैंडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटा, जिल्ला सैनिक बोर्ड भरतपुरका सेक्रेटरी गोविन्दबहादुर थापा, वुद्धिजिवी गिरिराज उपाध्याय, भूपू सैनिक कल्याणकारी संस्था अमरापुरीका अध्यक्ष रामप्रसाद कंडेल, सदस्य दिलिप शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीतर्फको प्रगति प्रतिवेदन संस्थाका सचिव बेदबन्धु रेग्मी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तमबहादुर क्षेत्री, लेखा प्रतिवेदन संयोजक दुर्गाबहादुर पुनले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै भूतपूर्व सैनिक जनकल्याणकारी संस्थातर्फको प्रगति प्रतिवेदन तर्कबहादुर थापा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेतबहादुर रोकायाले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सदस्यका छोराछोरीलाई छात्रृवित्त, सम्मान एवं पुरस्कृत गरिएको थियो । 

महिला समूहका सह सचिव निशा पाटा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम संस्थाका व्यवस्थापक दुर्गाप्रसाद पौडेल (शिव) ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाको अध्यक्षतामा सम्पन्न भएको हो । 

२०६४ सालमा भूपु सैनिक, सेवारत सैनिक र तिनका परिवारका सदस्यबीच आपसी सहकार्य, मित्रता र समन्वयमा अनेकतामा एकता भन्ने भावनाबाट प्रेरित भई स्थापित संस्थाले सहकारी संस्थाको पर्वद्धन गरि सदस्य हितका कार्य गर्दै आएको छ । २०६५ सालदेखी मासिक एक सय रुपैयाँका दरले बचत गर्दै आएको संस्थाले २०६८ सालमा डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी दर्ता गरेको थियो । यस संस्थाले नेपाल, भारत र ब्रिटिश सेनाका सेवारत तथा सेवा निवृत सैनिकहरु, उहाँहरुको नामबाट पेन्शन प्राप्त गर्ने महिलाहरु र परिवारको सदस्यहरुलाई सदस्यता प्रदान गर्दै आईरहेको छ । 

२८ करोड निक्षेप संकलन रहेको सहकारी संस्थाले २९ करोड बढी लगानी गरेको छ । संस्थामा हाल २६ सय ७० सेयर सदस्य रहेका छन् ।