मैनबत्ती बालेर सन्देश : ५१ सूचक पुरा गरेर बालमैत्री नगर बनाऔँ

२०७९ भदौ २९ बुधबार २०:४०:०० मा प्रकाशित


गैँडाकोट । बालबालिकाहरुले गैँडाकोटलाई बालमैत्री नगर बनाउन आग्रह गरेका छन् । राष्ट्रिय बालदिवशको अवसरमा गैँडाकोट १ मा भएको मैनबत्ती प्रज्ज्वलन कार्यक्रममा बालबालिकाहरुले बालमैत्री नगर बनाउन सबैमा आग्रह गरेका हुन् । गैँडाकोटको पहिलो बालमैत्री वडा गैँडाकोट १ को वडा कार्यालय परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । बालमैत्री स्थानीय शासनका लागि आवश्यक ५१ सूचकलाई आधार मान्दै ५१ वटा मैनबत्ती प्रज्ज्वलन गरिएको थियो । 


बाल सञ्जाल नवलपुरका उपाध्यक्ष कृष्ण पौडेलले बालबालिकाको अर्थपूर्ण सहभागिताले बालबालिकाको भविष्य मैनजस्तै उज्ज्वल हुने बताउनुभयो । नगरबाल सञ्जाल गँैडाकोटका अध्यक्ष आस्था घिमिरेले गैँडाकोट १ र ११ बाहेक अन्य सबै वडालाई बालमैत्री बनाउन स्थानीय सरकारसंग आग्रह गर्नुभएको छ । नगरबाल सञ्जाल गैँडाकोटका निवर्तमान अध्यक्ष सुश्मिता भण्डारीले नगरलाई बालमैत्री निर्माणका लागि सबै वडा सरकारहरुले अपनत्व ग्रहण गर्दै क्रियाकलाप अघि बढाउन आग्रह गर्नुभयो । 


बालसञ्जाल गैँडाकोट १ का अध्यक्ष निलु पौडेलले बालबालिकाको सर्वागिंण विकासका लागि बालअधिकारको आवश्यकता र निरन्तरता जरुरी रहेको बताउनुभयो । गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले नगरकै पहिलो बालमैत्री वडाले बालबालिकाको अधिकार प्रत्याभूति र सचेतना निर्माणका लागि सधैँ अग्रसर रहने बताउनुभयो । वडा बालसञ्जाल गैँडाकोट १ को आयोजनामा भएको कार्यक्रमको सहजीकरण बालमैत्री अभियानका अभियन्ता जगन्नाथ उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बालक्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा बालसञ्जालका पदाधिकारी तथा सदस्यलाई व्याज वितरण गरिएको थियो ।