जयश्री फुड्समा १०१ जनाद्वारा रक्तदान

२०७९ श्रावण २१ शनिबार १६:२३:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि.को प्राङ्गणमा शनिबार भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् । १३ महिला सहित १०१ जनाले रक्तदान गरेको जयश्री फुड्स प्रा.लि.का म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले ११२ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता खुमनाथ पौडेललाई रक्त संकलन ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले मानवीय सेवाका कामलाई प्राथमिकता दिन आम समुदायलाई आग्रह समेत गर्नुभएको छ ।

जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो । उहाँले च्यारिटी नेपालका माध्यमबाट जेहेन्दार विद्यार्थी, असहायहरुलाई सहयोग गर्नेगरी काम गर्ने बताउनुभयो ।  

कार्यक्रममा गैँडाकोट नगर उपप्रमुख शान्ती कोइराला, गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य अमृत भट्टचन लगायत पूर्व एवं वर्तमान जनप्रतिनिधिलगातयको विशेष उपस्थिती रहेको थियो । 

जयश्री च्यारिटी नेपाल र जयश्री फुड्स प्रा.लिको आयोजना, नवजागरण ग्रामिण विकास केन्द्र गैँडाकोट, नेपाल रेडक्रस सोसाईटी भरतपुरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

४ वर्षअघि २०७५ सालमा काठमाडौँ महानगरपालिकामा दर्ता भएको जयश्री च्यारिटी नेपाल गैरनाफामुलक सामाजिक संस्था हो । यसले कोभिडका बेला गरिएको लकडाउनका समयमा देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आईरहेको छ ।