गैँडाकोट शिक्षा समितिमा दुई सदस्य अन्यौलमा

२०७९ श्रावण २१ शनिबार १५:५५:०० मा प्रकाशित

गैँडाकोट । यही असारमा गैँडाकोटको शिक्षा ऐन बनेपछि शिक्षा समिति गठन गरिएको छ । ११ सदस्यीय समितिमा तीन पदेन रहेको छ । छ जना मनोनयन गरिएपनि प्रक्रियागत कारण दुई सदस्य मनोनयन कार्य अन्यौलमा रहेको छ ।

नगरपालिका क्षेत्रभित्र सञ्चालन भइरहेका र स्थापना हुने विद्यालयको व्यवस्थापन, रेखदेख, नियमन र समन्वय लगायतका कार्यका लागि नगर शिक्षा समिति रहने प्रावधान अनुरुप गठित समितिमा शुक्रबार छ जनालाई सदस्यमा मनोनित गरिएको हो ।

नगर शिक्षा समितिको अध्यक्षमा नगर प्रमुख रहने व्यवस्था अनुरुप मदनभक्त अधिकारी रहनुभएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत, सदस्य रहने व्यवस्था अनुरुप मुक्तिराम रिजाल सदस्य रहनुभएको छ । नगर कार्यपालिकाका सदस्यहरु मध्येबाट नगर प्रमुखले तोकेको एकजना सदस्यमा गैँडाकोट ६ का वडाअध्यक्ष सुभाष चापागाई मनोनित हुनुभएको छ । सामुदायिक विद्यालयका शिक्षक र प्रधानाध्यापकहरु मध्येबाट शिक्षा समितिले मनोनित गर्ने एक सदस्यमा जनक माविका चुडामणी शर्मा मनोनित हुनुभएको छ । संस्थागत विद्यालयका प्रिन्सीपलहरु मध्येबाट शिक्षा समितिले मनोनित गर्ने सदस्यमा स्मल हर्ट एकेडमी गैँडाकोट ४ का निर्मल पाण्डे मनोनित हुनुभएको छ ।

त्यस्तै सामुदायिक संस्था वा शिक्षा क्षेत्रमा क्रियाशिल समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी मध्येबाट शिक्षा समितिले मनोनित गर्ने एक महिला सहित ३ सदस्यमा डोलराज पाण्डे, खेमराज सापकोटा र विष्णुमाया पन्थी रहनुभएको छ । नगर शिक्षा अधिकारी, सदस्य सचिव रहने प्रावधान अनुरुप डा. बालकृष्ण चापागाईं रहनुभएको छ ।  

शिक्षक महासंघको नगर समितिको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहने भएपनि नगरमा महासंघ गठन हुन नसकेका कारण उक्त सदस्य पद रिक्त रहेको छ । नगरपालिकामा राजनीतिक दल सम्बद्ध शिक्षक संगठनहरुबीच समन्वय हुन नसक्दा महासंघ गठन हुन सकेको छैन । 

त्यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट शिक्षा समितिले मनोनित गरेको एकजना सदस्य रहने व्यवस्था रहेपनि करिब दुई तिहाई विद्यालयले व्यवस्थापन समिति गठन गर्न नसकेका कारण समेत सो पद रिक्त रहेको छ ।

नगर शिक्षा शाखाले पटक–पटक ताकेता गर्दापनि ऐन अनुरुप विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । ऐन बन्नुअघि वडाअध्यक्षहरुले नै मातहतका वडाको विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पाएका थिए । नगरमा ऐन बनेपछि ऐन अनुरुप गर्न भनिएपनि कतिपय वडाअध्यक्षले अझै छाडेका छैनन् । कतिपयले कार्यबोझ थपिएको भन्दै यसअघि नै जिम्मेवारी सुम्पिएका थिए ।

दुई तिहाइ सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी समेत वडा अध्यक्षले नै सम्हाल्दै आएका छन् । केही नव गठित विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्षले जिम्मेवारी लिएका छन् । करिब आधाजसो सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन भएपश्चात सदस्य मनोनित कार्य अघि बढाइने शिक्षा समितिले जनाएको छ ।