जलुकेको प्राथमिकता : सुरक्षित खानेपानी वितरण, ल्याबले पनि भन्छ पानी सुरक्षित छ

२०७९ श्रावण २० शुक्रबार १८:१२:०० मा प्रकाशित


गँैडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरिएको खानेपानी सुरक्षित रहेको बताएको छ । द्वेमासिक रुपमा संस्थाकै आन्तरिक ल्याब र आवश्यकता अनुसार अन्य ल्याबमा गरिएको परीक्षणबाट पानी सुरक्षित रहेको देखिएको संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले बताउनुभयो । खानेपानी वितरण गर्नु मात्र ठूलो कुरा नभइ सुरक्षित पानी वितरण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको अध्यक्ष चालिसेले बताउनुभयो । 


जलुके खानेपानीको अहिले वर्षायामका समयमा गरिएको परिक्षणबाट पानी सुरक्षीत र पिउनका लागि योग्य रहेको देखाएको छ । पानीमा हुने मसिना पातपतिंगरको धूलो र दिशामा हुने विषाणुहरु शून्य मात्रा रहेको व्यवस्थापक गंगाराम पौडेलले बताउनुभयो । पानीमा धमिलोपना, पानीमा हुने गन्ध, स्वाद वा रङ्ग, राष्ट्रिय खाने मापदण्ड बमोजीम रहेको संस्थाले जनाएको छ । जलुके खानेपानीमा अहिलेसम्म आरसेनिक समस्या देखिएको छैन भने फिल्टर गरेर मात्र पानी वितरण हुने भएकाले बालुवाको समस्या पनि नरहेको संस्थाका व्यवस्थापक पौडेलले विजय एफएमलाई बताउनुभयो । पानीको कडापन पनि मापदण्ड बमोजीम रहेको बताइएको छ । वर्षायाम वा अन्य जुनसुकै समयमा पनि पानीलाई उमालेर मात्र पिउनु स्वास्थ्यका लागि उपयुक्त हुँदा सो गर्नुहुन पनि उपभोक्तालाई अध्यक्ष चालिसेले आग्रह गर्नुभएको छ । 


जलुके खानेपानी उपभोक्ता संस्थामा गत आर्थिक वर्षमा १ सय १० जना नयाँ उपभोक्ता थप भएसंगै १९१८ उपभोक्ता पुगेका छन् । जलुके खानेपानीमा प्रतिदिन साढे १२ लाख लिटर पानी आपूर्ति हुने गरेको छ । जलुकेको प्रतिदिन २५ लाख ४६ हजार लिटर वितरण गर्न सक्ने क्षमता रहेको छ । जलुकेले गत आर्थिक वर्षमा  १ लाख क्षमता थप गर्दै साढे ९ लाखको पानी भण्डारण क्षमता पु¥याएको छ । अघिल्लो वर्षमा पिपलटारमा १ लाख भण्डारण क्षमताको ट्यांकी निर्माण गरेपछि सो वस्तीका ५० भन्दा बढी घरपरिवारमा खानेपानीको वितरण सहज बनाएको छ । सो वस्तीका परिवार सुरक्षित खानेपानीबाट लाभान्वित बनेका छन् ।