पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्ने आयल निगमको चेतावनी 

२०७९ असार २० सोमबार १८:३९:०० मा प्रकाशित


नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ ।
सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।  निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा भनिएको छ विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।
घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ । निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताउनुभयो । 
त्यस्तै नेपाल आयल निगमले शनिबार  गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । निगमले निरन्तर कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको हो ।

 यस्तै निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पनि प्रस्ताव गरेको छ ।