नवलपुरका ३ सय ४० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च, सबैभन्दा धेरै गैँडाकोटका 

२०७९ असार २० सोमबार ०७:१२:०० मा प्रकाशित

नवलपुर

नवलपुरमा स्थानीय तहको निर्वाचनमा भाग लिएका मध्ये करिब २४ प्रतिशत उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएका छन् । निर्वाचन भएको एक महिनाभित्र चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको भएपनि दुई महिना हुन लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । नवलपुरमा हालसम्म ३ सय ४० जनाले निर्वाचन खर्च बुझाएका छन् ।

जिल्लाका १ हजार ४ सय २९ जना उम्मेदवारमध्ये हालसम्म जिल्लामा ३ सय ४० जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुषालले बताउनुभयो । भुषालका अनुसार जिल्लामा सबैभन्दा धेरै गैँडाकोट नगरपालिकाका १ सय २२ जना र सबैभन्दा कम मध्यबिन्दु नगरपालिकाका १ जनाले निर्वाचन खर्च बुझाएका छन । यस्तै देवचुली नगरपालिकाका १ सय १५ जना, कावासोती नगरपालिकाका ६२ जना, विनयी त्रिवेणी गाउँपालिकाका २८ जना, बौदीकाली गाउँपालिकाका ४ जना, बुलिङ्टार गाउँपालिकाका ६ जना, हुप्सेकोट गाउँपालिकाका ६ जनाले निर्वाचन खर्च बुझाएको भुषालले जानकारी दिनुभयो ।


सबै राजनितिक दलका उम्मेद्वार अन्य स्वतन्त्र व्यक्तिलाई पनि जानकारी गराएको बताउदैँ समयमै निर्वाचन खर्च बुझाउन आग्रह गर्नुभएको छ । खर्च विवरण बुझाउदा आयोगले तोकेको मापदण्ड भित्रकै खर्च विवरण प्रस्तुत गरेपनि त्यो भन्दा बढी खर्च गरेको हुन सक्ने उहाँले बताउनुभयो । यस्तो विषयमा अनुसन्धान गरिने भुषालको भनाई छ ।