नेपालमा फेरि कोरोना संक्रमणको दर बढ्दै, आज ५३ जनामा संक्रमण 

२०७९ असार १९ आइतबार १६:३१:०० मा प्रकाशित


गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको संक्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने संक्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो । यी सब भेरियन्टहरु निकै संख्यामक रहेको बताइएको छ ।

भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन् । संक्रमितको संख्या बिस्तारै बढ्न थालेपछि नेपालमा स्वास्थ्य सतर्कता बढाउन थालिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार असार १२ देखि असार १८ गतेसम्म ७ दिनमा ३२५ जना संक्रमित थपिएका छन् भने यही अवधिमा १२४ जना संक्रमणमुक्त भएका छन् । 
पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको । २१ सय २० जनामा गरिएको कोरोना परीक्षणमा आरटी–पिसिआर विधिमार्फत् ३९ जनामा र एन्टिजेन विधिमार्फत् १४ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ ।