गण्डकी सहकारीले चार वर्षमा चार अर्बको सम्पत्ति पुर्याउने

२०७९ असार १६ बिहीबार ११:५३:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षका लागि व्यवसायिक योजना तर्जुमा गरेको छ ।

संस्थाका अध्यक्ष पोषणराज सुवेदीले चार वर्ष अवधिमा सहकारीको चार अर्बको सम्पत्ति पुर्याउने लक्ष्य रहेको बताउनुभयो । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चितवनको शौराहामा गरेको कार्यशाला गोष्ठीले योजना तर्जुमा गरेको उहाँले बताउनुभयो । अध्यक्ष सुवेदीले आगामी ४ वर्षमा संस्थाको कुल सम्पत्ति ४ अर्ब र सदस्य संख्या ३० हजार पुर्याउने लक्ष्य तय गरिएको बताउनुभयो । उहाँले उक्त लक्ष्य हासिल गर्नका लागि विगतमा जस्तै सबै सञ्चालक समिति, उप समिति, कर्मचारी एवं सदस्यहरुको सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ । 

गोष्ठिमा संस्थाका सचिव कुलप्रसाद पाण्डे, संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपाने, पूर्व अध्यक्ष एवं लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्द सुवेदी, एक्सेस कार्यदलका सदस्य तारानाथ लामिछाने, संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदी लगायतले बोल्दै सबैको हातेमालो भएमा लक्ष्य हासिल हुने बताउनुभएको थियो ।

कार्यक्रममा कर्मचारीको तर्फबाट तुलसी सापकोटा, संचालकको तर्फबाट नरहरी सापकोटा, पूर्व अध्यक्ष बेदप्रसाद गौडेल, शुरेश पण्डित, सहजकर्ता तारानाथ लामिछानेले योजना तर्जुमा सम्बन्धमा आफ्नो अनुभव तथा योजना कार्यान्वयनको लागि प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सहभागिहरु ४ समूहमा बिभाजीत भई व्यावसायिक योजनाका मूल विषयहरुमा सामुहिक छलफल गरि निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।