अन्न बिना जीवन छैन, गौशालाको हिलोमा मेयर उपमेयर

२०७९ असार १५ बुधबार १८:१०:०० मा प्रकाशित

असार पन्ध्र । मध्य वर्षायाम । धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिन । दही–चिउरा खाने दिन । जसरी लिएपनि नेपाली समाजमा यसको छुट्टै महत्त्व छ । असार १५ ले महोत्सवको रुप धारण गर्दै जान थालेको छ । खेतबारी नहुनेहरु पनि खेतमा छिरेर हिलो छ्यापा छ्याप गरेर मनाउन थालेका छन् । खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ ।


असार–साउन अर्थात यो समय अन्नबाली लगाउनका लागि अनुकुल सिजन हो । त्यही भएर पनि खेतीकिसानी गर्नेहरु जसरी भएपनि बाली लगाउने ध्याउन्नामा हुन्छन् ।


गैँडाकोट १२ गौशालामा गैँडाकोटका नगर प्रमुख, उपप्रमुख हौसला दिन पुगेका थिए । पूर्व पश्चिमबाट आएका रोपहारहरुलाई नगर प्रमुख मदनभक्त अधिकारीले भन्नुभयो, “गतसाल यहाँ वडाअध्यक्ष थिरबहादुर थनेतले सिंचाइका लागि कुलो निर्माणका लागि काम गर्नुभएको छ । बाँकी कामको पूर्णताका लागि हामीले नगरपालिकाबाट निर्णय गरिसकेका छौँ ।”


यहाँ उत्पादित अन्नले हरिहर सन्न्यास आश्रम देवघाटमा आश्रित विद्यार्थीहरुको भोजनका लागि जोहो गर्दै आएको छ । साढे ३ सय विद्यार्थीको भरण पोषणका लागि यहाँ ४ विगाहा भन्दा धेरै क्षेत्रफलमा रोपाई हुँदै आएको छ । पूर्व पश्चिमका विभिन्न जिल्लाबाट स्वतस्फुर्तरुपमा यहाँ धान रोप्न आउने गरेका छन् ।


आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले भन्नुभयो, “पैसाले मात्र केही हुँदैन अन्न नभए कोही बाँच्न सक्दैन, प्रमुख बाँच्ने साधन स्रोत अन्न भएकाले जबसम्म कृषिलाई अघि बढाउन सकिदैन तबसम्म कसैको पनि जीवन छैन ।”

यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला । कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । यहि दहि चिउरा खाएर असार १५ मनाउने गरेका छन् ।
गैँडाकोटको कृषि शाखामा असार १५ सम्ममा ७५ प्रतिशत रोपाई भइसकेको तथ्याङ्क रहेको शाखा प्रमुख राजु शर्माले जानकारी दिनुभयो ।