गैँडाकोटमा औलो र डेङ्गुको चिन्ता

२०७९ असार ११ शनिबार १४:१३:०० मा प्रकाशित


गैँडाकोट । “मेरो परिचय मलेरिया कुमारी भनेर दिने गरेकी छु । ता की मलाई देख्नेवित्तिकै मलेरिया परिक्षण गर्नुपर्छ भन्ने लागोस् र यसलाई नियन्त्रण गर्न सकियोस् ।” आधारभुत स्वास्थ्य केन्द्र गैँडाकोट १ का ल्याब असिस्टेन्ट प्रतिभा वाग्ले । औलो (मलेरिया) परिक्षणका लागि गाउँघरमा जाँदा उहाँले परिक्षण गर्न नमानेको प्रसंग उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभयो । “पढेलेखेका र जाने बुझेकाले नै परिक्षण गर्न नमान्ने अवस्था छ,” उहाँले भन्नुभयो । औलो स्थानीय भन्दा पनि आयातित बढी रहेको पाईएकोले भारत वा तेस्रो मुलकबाट आउने व्यक्तिको परिक्षण अनिवार्य गरिएको छ ।   
नगर स्वास्थ्य शाखा गैँडाकोटका हेल्थ असिस्टेन्ट प्रकाश पोख्रेलले भन्नुभयो, “पछिल्लो प्रतिवेदनले आयातित बढी रहेको देखिएको छ, छिमेकी राष्ट्र भारत र शान्ती सेनामा गएर आएकाहरुको छिटो भन्दा छिटो परिक्षण गरिएन भने यसलाई नियन्त्रण गर्न सकिन्न । त्यसैले स्थानीयले पनि सहयोग गर्नुपर्छ ।”
नगर स्वास्थ्य शाखाका सर्भिलेन्स अधिकृत नारायण सापकोटाले भन्नुभयो, “गैँडाकोटमा एक वर्षको अन्तरालमा हरेक वर्ष डेङ्गु देखिने गरेको छ । गएको वर्ष देखिएन त्यहि भएर यसवर्ष हाम्रो चिन्ता हो ।”
आधारभुत स्वास्थ्य केन्द्र गैँडाकोट ४ का टुकराम सुवेदीले भन्नुभयो, “वर्षातको मौसमको अन्त्यतिर महामारीको रुप लिने गर्छ, बेलैमा सचेत भइएन भने यसले ज्यानै पनि लिन्छ ।”
गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मीले भन्नुभयो, “कोभिडमा जसरी स्थानीयले साथ दिएर हामी सफल भयौ त्यसैगरी हरेक टोल विकास संस्थाले त्यो भूमिका निर्वाह गरी यसलाई रोकथाम गर्नुपर्छ ।”
मिलन टोल विकास संस्था गैँडाकोट १ का अध्यक्ष कृष्ण कोइरालाले भन्नुभयो, “टोल विकास संस्थाको तर्फबाट किटजन्य रोग नियन्त्रणका लागि हामी सक्दो पहल गर्नेछौँ ।”
गैँडाकोट १ का निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटाले भन्नुभयो, “सञ्चार माध्यम, माईकिङ, सामाजिक संघ संस्था र विद्यार्थीका माध्यमबाट जनचेतना अभिवृद्धि गरी यसलाई रोकथाम गर्न सकिन्छ ।”
गैँडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयले गैँडाकोट १ स्थित होटल ग्रिन फरेस्टमा गरेको किटजन्य रोग नियन्त्रणका लागि बहु निकाय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यसको रोकथामका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।
नगर क्षेत्रमा रहेका पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने पुराना टायर तथा घर वरीपरिका खाल्डाखुल्डी चुनौतीका रुपमा रहेका छन् । डेङ्गु तथा औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो ।
गैँडाकोटमा आर्थिक वर्ष २०७४/०७५ मा ५ जना र २०७६/०७७ मा ११९ जनामा डेङ्गु देखिएको थियो ।
त्यस्तै २०७४/०७५ मा ७ जना, २०७५/०७६ मा ५ जना, २०७७/०७८ मा १ जनामा औलो देखिएको थियो । पछिल्लो पटक भरतपुरमा गरिएको परिक्षणमा भारतबाट आएका गैँडाकोट १२ का एकजनामा औलो देखिएको थियो । सो गाउँका अन्यमा गरिएको परिक्षणमा भने औलो देखिएको थिएन । नगरका वडा नम्बर २, १० र १५ मा बाहेक हरेक वडामा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।
डेङ्गु रोग सम्बन्धी ज्ञान तथा चेतना अभिवृद्धि गरी डेङ्गु रोग नियन्त्रणमा मद्दत पु¥याउने, स्थानीय स्तरमा लामखुट्टे वृद्धि हुने मुख्य स्रोतहरुको खोजी गरी नष्ट गर्ने, औलो निवारणका लागि स्थानीय तहलाई जिम्मेवार बोध गराइ प्रतिवद्ध गराउने जस्ता क्रियाकलाप गर्दै आएको गैँडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।