भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मेयर दाहालद्वारा उद्घाटन

२०७९ असार ९ बिहीबार १६:४९:०० मा प्रकाशित


चितवन । भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगरमा माध्यमिक विद्यालयको प्राङगणमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।


प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताउनुभयो ।


रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको गरेको प्रमुख दाहालको भनाई थियो ।


भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको समेत मेयर दाहालले जानकारी दिनुभयो । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भइरहेको पनि मेयर दाहालले बताउनुभयो ।


कोभिड–१९ कोरोना भाईरसका कारण विद्यालय बन्द हुँदा ३ वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिएको थियो ।


प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स गरी ३ विधाका खेल हुने भरतपुर शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले बताउनुभयो ।

 

 प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ५० वटा विद्यालयको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । गर्मीको समयका कारण प्रतियोगिता विहानको समयमा गरिने पनि उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।