समावेशी ग्रामिण विकास परियोजना स्थानीय सरकारलाई हस्तान्तरण

२०७९ असार ९ बिहीबार १६:४४:०० मा प्रकाशित


नवलपुर ।  साविकको नवलपरासी जिल्लामा ३ वर्षदेखि संचालित समावेशी ग्रामिण विकास परियोजना हस्तान्तरण गरिएको छ । जिल्लाको ६ वटा स्थानीय तहको १३ वटा वडामा सहमती, कोइका र गुड नेहर्वसले किसानको जिविको पार्जनमा लक्षित गरी संचालित परियोजना पालिकाहरुलाई हस्तान्तरण गरिएको हो । भुमहिमा आयोजना गरिएको परियोजना समापन कार्यक्रममा कार्यक्षेत्र रहेको स्थानीय तहका जनप्रतिनिधीलाई कार्यप्रगति विवरण सहित परियोजना हस्तान्तरण गरिएको हो । 


जिल्लाको सुनवल नगरपालिकाको वडा नम्बर २,५,९ सुस्ता गाउँपालिकाको वडा नम्बर २,३ प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६,८ पाल्हिनन्दन गाउँपालिकाको वडा नम्बर ६, सरावल गाउँपालिकाको वडा नम्बर ७ र मध्यविन्दु नगरपालिकाको वडा नम्बर ६,७,८ र ९ नम्बर वडामा परियोजनाको विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो । 


हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी एवं सुनवल नगरपालिका प्रमुख विमला अर्यालले आफुहरुले परियोजनाले हस्तान्तरण गरेको दायित्व पुरा गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । किसानहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रम संचालन गरिएकोमा कोरिया सरकार र कार्यक्रममा सहयोग गर्ने सबै सस्थालाई धन्यवाद दिदै नगर प्रमुख अर्यालले महिलाहरुलाई व्यवसाय गर्न ठेला देखि कृषिमा ठुला ठुला उपकरणहरु वितरण गरेर कृषि पेशामा किसानहरुलाई आकर्षित गराउन परियोजनाले ठुलो उपलब्धी हासिल गरेको बताउनुभयो ।

 
कार्यक्रममा बोल्दै कोइका नेपालका सुङ हुन को ले कोरीयाली सरकारको सहयोगमा संचालित कार्यहरु सबैमा सुधारात्मक परिवर्तन भएको बताउनुभयो । आगामि दिनमा सरोकारवाला र जनप्रतिनिधीहरुले सुधार गर्नुपर्ने विषयहरुलाई छनोट गरी लैजानुपर्ने बताउनुभयो । जलवायु परिवर्तन र कामदारको अभावका कारण कृषकहरुलाई समस्या भएको हुदा यसमा सरकारी निकायको सहयोग आवश्यक रहेको  बताउनुभयो । बाहिरबाट सहयोगको मात्रै अपेक्षा नगरी आफैमा निर्भर हुनुपर्नेमा पनि जोड दिदै आगामाी दिनमा पनि नयां योजना र परियोजनाहरु बनाउदै गरेको जानकारी दिनुभयो । 
खाली समयको सदुपयोग गरेर आम्दानी लिन सकिने भएपनि आवश्यक सिपको अभावका कारण निर्वाहमुखी तरकारी खेती गर्दै आएका किसानहरुले यस परियोजना संचालनले निकै लाभाम्वित भएको बताएका छन । सहमती, कोइका र गुड नेहर्वसले समावेशी ग्रामिण विकास परियोजना मार्फत व्यवसायिक कृषि, व्यवसायिक पशुपालन, आर्थिक पूर्वाधार सिंचाइ र युवा महिला रोजगार कार्यक्रम संचालन गरेको थियो । 


३ वर्षको अवधिमा परियोजनाको प्रगति विवरण अनुसार ६ हजार २ सय १४ घरधुरी लाभाम्वित भएका छन । जसमध्ये व्यवसायिक कृषि तर्फ १ सय १० जना कृषकले व्यवसायिक कृषि फर्म स्थापना गरेका छन । ३ वटा तरकारी संकलन केन्द्र स्थापना, ५ वटा कृषि यन्त्रशाला स्थापना, १ सय ४९ कृषहरुले ५५.२५ हेक्टरमा केरा खेती विस्तार गरेको, १ सय २४ कृषकले ४५.५९ हेक्टरमा धान र गहुको विउ उत्पादन गरेका छन । 


व्यवसायिक पशुपालन तर्फ ६ सय २१ कृषकहरुले गोठ सुधार, १ सय १३ कृषकहरुले पशुपालनमा सहयोग पाएको, २१.५२ हेक्टरमा माछापालन विस्तार, ७ वटा दुग्ध संकलन केन्द्र स्थापना गरिएको जिविको पार्जन विज्ञ सुनिल दुलालले जानकारी दिनुभयो । त्यस्तै आर्थिक पुर्वाधार सिंचाई तर्फ ७ सय ६८ हेक्टर क्षेत्रफललाई सिंचाई हुने ३ सय ६ वटा सिंचाइ बोरिङ्ग संचालन गरिएको छ । ३ सय ७५ जना युवा तथा महिलाले प्राविधिक सिपमुलक तालिम प्राप्त गरेका छन ।  महिला उद्यम केन्द्र सुनवलले एउटा झोला र ग्रामेन्ट उद्योग स्थापना गरी ३२ जान स्वरोजगार भएको जिविको पार्जन विज्ञ दुलालले बताउनुभयो । 


परियोजना मार्फत किसानहरुलाई कृषि औचार र सामग्री सहित विभिन्न व्यवसायीक खेती गर्न आवश्यक विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको समावेशी ग्रामिण विकास परियोजनाका टिम लिडर लोक बहादुर थारुले बताउनुभयो ।  


कार्यक्रममा केडिएस का डा. हेजिन योन, जिएनआई नेपालका जे क्युन रो, संघिय मामिला तथा सामान्य मन्त्रालयका उपसचिव एवं परियोजना संचालक समिती सदस्य प्रल्हाद कुमार कार्की, कृषि मन्त्रालयका उपसचिव एवं परियोजना केन्द्रिय संचालक समिती सदस्य शंकर सापकोटा,सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी,सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता लगाएत परियोजना संचालित क्षेत्रका जनप्रतिनिधी र किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सहमतीका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।