देउराली वनद्वारा बोल्ने कला सम्बन्धी तालिम प्रदान

२०७९ असार ६ सोमबार १८:४३:०० मा प्रकाशित

गैँडाकोट । देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ३ ले महिला उपभोक्तालाई बोल्ने कला सम्बन्धी तालिम प्रदान गरेको छ । समूहको सभाहल ढोडेनीमा कार्यक्षेत्रका महिलाहरुको बोल्ने कला एवं क्षमता विकासका लागि ५ दिने उद्घोषण तालिम प्रदान गरेको हो ।  
तालिमको समापन सत्र एवं जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले तालिममा सहभागि महिलाको प्रस्तुती हेरेपछि आत्मविश्वास बढेको पाएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले नगर प्रमुख आएको बेला सडकका विषयमा कुरा उठाएपछि उहाँले आफ्ना बुवा स्व. सूर्यभक्त अधिकारीको सपना पूरा गर्न आफु लागि पर्ने बताउनुभयो । कालिगण्डकी करिडोर निर्माणका लागि स्थानीयदेखी केन्द्रसम्म आवाज उठाउने बताउनुभयो । सडक क्षेत्रमा रुख कटान गराई कालोपत्रेका लागि पहल गर्ने बताउनुभयो ।


कार्यक्रममा गैँडाकोट ३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता शिवकान्त तिवारीले वडाबासीको क्षमता विकासका लागि वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले वडामा बजेट तथा योजना छनौट गर्नेक्रममा रहेकाले सबैलाई समेट्ने बताउनुभयो ।
सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिंह गुरुङले वनको नीति ऐन अनुरुप महिला सहभागिता बढाउनुपर्ने बताउँदै महिला पनि अग्रसर हुनुपर्ने बताउनुभयो । त्यसका लागि तालिम सहयोगि सिद्ध हुने बताउनुभयो । वनका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक धनबहादुर चितौरेले वनको संरक्षणसँगै सशक्तिकरणका कार्यक्रमले उपभोक्ता लाभान्वित भएको बताउनुभयो । पिछडिएको वडा भएका बताउँदै उहाँले गैँडाकोट ३ को विकासमा नगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो ।
तालिममा नेपाल पत्रकार महासंघ नवलपुरका सह सचिव, विजय एफएम १०१.६ का स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले डाक्टरले प्रेस्किप्सनमा औषधी लेखेर दिए झै आफुहरुले पनि नेतृत्व ग्रहणका लागि सहजिकरण गरेको बताउँदै अबका दिनमा अग्रसर हुन आग्रह गर्नुभयो । तालिमका प्रशिक्षार्थी अमृता खण्डलुकले तालिमले महिला दिदिबहिनीहरुमा आत्मविश्वास बढेको बताउनुभयो ।


देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मुक्मी मगरले सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अभियान भन्ने मूल नाराका साथ वन संरक्षण, गरीब विपन्नको उत्थान, महिला सशक्तिकरण तथा जीविकोपार्जन लगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो । तालिममा वनको कार्यक्षेत्रका ४२ जना महिलाहरु सहभागि भएको वनका सचिव एवं महिला सशक्तिकरण उप समितिका संयोजक कृष्णमाया पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु सूर्यमाया दर्लामि, सुकमाया विक, गोपाल पुलामी, बेदबहादुर थापा, तालिमका प्रशिक्षक विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्री, वनका निवर्तमान अध्यक्ष नरबहादुर कुवँर, पूर्व अध्यक्ष ठाकुरप्रसाद रिमाल, सब डिभिजन वन गैँडाकोटका फरेष्टर बसुन्धरा भण्डारी लगायतको उपस्थिती रहेको थियो । वनका कोषाध्यक्ष कृष्णबहादुर विकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण शम्भु तिवारीले गर्नुभएको थियो । सो अवसरमा विकू मेलमिलाप सेवा केन्द्र र वनले जनप्रतिनिधिलाई सम्मान गरेका थिए ।