कालिका मन्दिर कालिका आश्रममा जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान

२०७९ जेठ २५ बुधबार १२:५०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रमले गैँडाकोट नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान गरेको छ । बुधबार मन्दिर प्राङ्गणमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै गैँडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले धार्मिक संघ संस्थाको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य भएको बताउँदै मन्दिर परिसरमा निर्माणाधिन काष्ठकला एंव ताम्रपत्र सहितको मन्दिरको निर्माणका लागि सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै नगर उप प्रमुख शान्ती कोईरालाले धर्मले मानिसलाई नैतिकवान बनाउन प्रेरित गर्ने बताउँदै यस्ता संस्थाको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले कालिका मन्दिर कालिका आश्रम वडाको गौरवको विषय भएको बताउँदै वडाले जहिले पनि प्राथमिकतामा राख्ने बताउनुभयो ।
कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष धनप्रसाद सापकोटाले निर्माणाधिन काष्ठकला एंव ताम्रपत्र सहितको मन्दिरमा आकर्षक गजुर, १३ सय क्युफिट सालको काठ र २६ सय किलोग्राम तामा प्रयोग भएको बताउँदै नमुना मन्दिरका रुपमा स्थापित गर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।   
कार्यक्रममा मन्दिरका सल्लाहकार ओमप्रसाद सापकोटा, नगर कार्यपालिका सदस्य शान्ती न्यौपाने, डा. नारायणप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यसमिति सदस्य ज्ञानु घिमिरेले सहिजकरण गर्नुभएको सो कार्यक्रममा मन्दिरका उपाध्यक्ष पशुपति सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।