जापानमा आमा गुमाएकी बालिकालार्ई जापानमा रहेका नेपालीको सहयोग

२०७९ जेठ १३ शुक्रबार १३:०१:०० मा प्रकाशित

 

नवलपुर । एनआरएनए जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पलहलमा नवलपुरकी एक ७ वर्षिय बालिकालाई करिब साढे ८ लाख रकम सहयोग गरिएको छ । नवलपुर अरुणखोलाकी ७ वर्षिय नायोमी लामालाई नवलपुर सामाज जापानले ८ लाख ४३ हजार ४ सय २० रुपँैया सहयोग गरेको हो । 

बालिका नायोमी लामाकी आमा लक्ष्मी केसीको गत चैतमा जापानमा मृत्यु भएको थियो । ५ वर्षदेखि जापानमा बस्दै आउनुभएकी २५ वर्षीय केसी जापानमा आफ्नै कोठामा मृत अवस्थामा भेटिनुभएको थियो । लक्ष्मी केसीको मृत्युपछि उहाँका श्रीमान विशाल लामा र ७ वर्षिय छोरी नायोमी लामा जापान गइ सपरिवार बस्ने सपना थाँती नै बन्यो । 

मृत्यु पश्चात मृतक केसीको अन्त्येष्टिको लागि एनआरएनए जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा रकम संकलन गरिएको थियो । दुबै संस्थाको पहलमा ११ लाख ६१ हजार ७५ येन संकलन भएको थियो । 

लक्ष्मी केसीको अन्त्यष्टिको लागि २ लाख ८० हजार येन र उहाँको घरसम्म सामान पठाउँदाको ८१ सय येन गरि जम्मा २ लाख ८८ हजार १ सय येन खर्च भएको थियो । खर्च कटाएर बाँकी रकम ८ लाख १८ हजार ७५ येन अर्थात् ७ लाख ९३ हजार ४ सय २०  नेपाली रुपैँया  रहेको थियो ।  बाँकी रकममा गैँडाकोट ५ मा बस्ने नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेलले २५ हजार र गैँडाकोट १५ बस्ने नवलपुर समाज जापानका उपाध्यक्ष विष्णु शर्माले २५ हजार रकम थप सहयोग गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्ष दुबैले थप गरेको रकम सहित कुल ८ लाख ४३ हजार ४ सय २० रुपैँया छोरी नायोमीलाई प्रदान गरिएको छ । 
 
नायोमी लामाको बुवा विशाल लामाको रोहबरमा हस्तान्तरण गरिएको रकम एनआइसी बैंकमा १८ वर्ष पुगेपछि निकाल्न मिल्ने गरि फिक्स डिपोजिट गरिएको नवलपुर समाज जापानका उपाध्यक्ष विष्णु शर्माले विजय एफएमलाई जानकारी दिनुभयो । 

हस्तान्तरण कार्यक्रममा नवलपुर समाज जापानका अध्यक्ष कृष्ण खरेल, उपाध्यक्ष बिष्णु शर्मा, संस्थापक अध्यक्ष केशव पौडेल, दोहोरी गायक दिपक खड्का र नायोमी लामाको बुवा विशाल लामा लगायतको उपस्थिती रहेको थियो । 

नेपाल जन्मभुमी भई जापानलाई कर्मभुमि बनाएर बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचाएर सहयोग गर्ने सहयोगी व्यक्तिहरु, संघसस्थाहरु,  एनआरएनए जापान क्षेत्रीय समिति कान्तो प्रति नवलपुर समाज जापानका उपाध्यक्ष विष्णु शर्माले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । मानवीय हित र सहयोगका लागि आगामी दिनमा अरु कल्याणकारी काम गर्ने समेत उपाध्यक्ष शर्माले बताउनुभएको छ । सन २०१७ मा स्थापाना भएको नवलपुर समाज जापानले यस अघि पनि धेरै स्थानमा मानव कल्याणकारी कामका लागि सहयोग गर्दै आएको छ ।