गैँडाकोटमा बीउ उत्पादन सम्बन्धि तालिम सुरु

२०७९ जेठ १२ बिहीबार १५:४९:०० मा प्रकाशित

गैँडाकोट ।  गैँडाकोटका कृषकहरुका लागि बीउ उत्पादन सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । 
गैँडाकोट ६ स्थित शिवनगर खानेपानी संस्थाको सभाहलमा कृषि ज्ञान केन्द्र नवलपुरको आयोजनामा सुरु भएको तालिमको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासुदेव रेग्मीले उद्घाटन गर्नुभएको छ।  उहाँले किसानहरुलाई व्यवसायीकरणमा जोड दिन आग्रह गर्दै आफ्नै ठाउँमा बीउको उत्पादन गर्न सके फाइदा हुने बताउनुभयो । उहाँले अझैपनि बीउको नयाँ जात ल्याउन नसकेको र आफ्नो ठाउँमा उत्पादन गर्न सकिने बीउ पनि उत्पादन नगरेको गुनासो गर्नुभयो । किसानहरुले धान, मकै, गहुँ लगाए पनि बीउ उत्पादनमा ध्यान नदिएको उहाँको भनाई थियो । त्यस्तै उहाँले बीउ उत्पादन गर्न ईच्छुक भएका किसानहरुलाई उत्पादनकर्तालाई चाहिने सामान, प्रविधिक ज्ञान सम्बन्धि तालिमहरु आफुले उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो । 
कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले नवलपुरमा कृषि योग्य जग्गा धेरै रहेको र किसानहरुले आफै बीउ उत्पादन गर्न सक्ने बताउनुभयो । उहाँले विशेष गरी धान, गहँु, मकै खेतीमा जोड दिएको बताउँदै बालिको बीउ उत्पादनका लागि ७२ लाख रकम विनियोजन गरेको बताउनुभयो । 
कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपूरका कृषि प्रसार अधिकृत मोहनप्रकाश श्रेष्ठले स्वागत मन्तव्य राख्दै तालिममा सहभागी भएका किसानहरुले ३ दिनको तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । 
त्यस्तै विनायक कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटका अध्यक्ष तिलक कंडेलले बीउका लागि अन्य ठाउँमा गुहार लगाउन नपरोस् भनेर तालिमको समन्वय गरिएको बताउनुभयो । उद्घाटन सत्र कृषि ज्ञान केन्द्र नवलपुरका बागवानी विकास अधिकृत शंकर पौडेलले सहजीकरण गर्नुभएको थियो । तालिममा गैँडाकोटका करिब ३ दर्जन कृषक सहभागी छन् ।