टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज

२०७८ माघ १२ बुधबार १६:११:०० मा प्रकाशित

चलचित्र र म्युजिक भिडियो करोड क्लबमा प्रवेश गर्नु नौलो कुरा रहेन । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोले युट्युबमा करोड भ्युज पार गरेका छन् । यसैबीच, पछिल्लो समय टेलिसिरियललाई समेत युट्युबमा करोड बढी हेर्न थालिएको छ । यसले युट्युबमा टेलिसिरियल हेर्ने दर्शकको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ । युट्युबमा टेलिसिरियल हेर्ने दर्शकहरु बढेसँगै युट्युबकै लागि मात्र पनि थुप्रै टेलिसिरियल निर्माण भइरहेका छन् ।
यसअघि नेपाली टेलिभिजन सिरियलको इतिहासमा पहिलोपटक भद्रगोलले युट्युबमा एक करोड भ्युज प्राप्त गरेको थियो । दुई वर्षअघि सार्वजनिक भद्रगोलको एपिसोड २०२ लाई युट्युबमा एक करोड बढी पटक हेरिएको छ । अहिले फेरि अर्को टेलिसिरियल गाह्रो छ हो ले युट्युबमा एक करोड भ्युज पाएको छ ।
११ महिनाअघि सार्वजनिक गाह्रो छ होको एपिसोड १४ लाख युट्युबमा एक करोड बढी हेरिएको हो । भटभटे माइला उपनामले चिनिँदै आएका हास्य कलाकार बेगम नेपाली र मोडल रियाशा दाहालको लेखन, मनराज श्रेष्ठको निर्देशन रहँदै आएको टेलिसिरियलमा बेगम र रियाशा नै मुख्य भूमिकामा देखिँदै आएका छन् । त्यस्तै, सुशील पोखरेल, विनोद राई, मनराज श्रेष्ठ, राजकुमार देवकोटा लगायतको यस टेलिसिरियलमा अभिनय रहँदै आएको छ ।

टेलिसिरियलले युट्युबमा एक करोड भ्युज पाएसँगै निर्माण टिमले सामाजिक सञ्जालमा खुशी साटेको छ । टेलिसिरियल लेखन तथा अभिनय गर्दै आएकी रियाशाले लेखेकी छिन्, हाम्रो गाह्रो छ हो सिरियललाई ११ महिनामा युटयुबमा एक करोडभन्दा धेरै पटक हेरिदिएर करोड क्लबमा पु¥याइदिनुहुने सम्पूर्ण भगवानरूपी दर्शकहरुप्रति गाह्रो छ हो परिवार हार्दिक नमन अनि सम्मान गर्न चाहन्छौं । यो माया, हौसला, साथ, सपोर्ट, सल्लाह सुझाव सधैं पाइराखौं । हामीलाई साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं ।