कोभिडपछि महको महत्त्व बढ्यो, तङ्ग्रिदै मौरी पालन व्यवसाय

२०७८ माघ ११ मंगलबार ११:३५:०० मा प्रकाशित


गैँडाकोट । कोरोनाका दुई लहरले पछिल्ला दुई वर्ष हरेक पेशा व्यवसाय प्रभावित बने । फेरी तेस्रो लहरको जोखिममा सबै व्यवसाय परेका छन् । तर मौरीपालक व्यवसायीलाई कोरोनाले व्यवसाय घाटामा जाला भन्ने चिन्ता छैन । कोभिडको समयमा अझै महको महत्त्व बढेको मौरी पालक कृषकहरु बताउँछन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ की अरुणा राउत थापा मौरीसँग रमाउन थालेको २० वर्ष बित्यो । शिक्षण पेशा छाडेर मौरी पालनमा रमाउनुभएकी उहाँलाई अचेल मौरी भुनभुनाएको नसुन्दा शून्य लाग्ने गरेको बताउनुहुन्छ । ७ वटा घारबाट सुरु गर्नुभएकी उहाँले मौरी पालनलाई व्यावसायिक बनाउँदै हाल सय वटा घार सम्म पु¥याउनुभएको छ । उहाँका अनुसार महिनाको पाँच लाख आम्दानी हुन्छ । उहाँ भन्नुहुन्छ, “मौरीसगँ रमाउन थालेकोले होला यीनिहरुले टोक्दा पनि दुख्दैन् । जागिर खानुभन्दा आफ्नै व्यवशाय गरौँ भनेर मौरी पालनमा लागेको अहिले यसबाट निकै राम्रो कमाई भएको छ । अब यसलाई अझै बढाउने सोच बनाएकी छु ।”
मौरी पालनका लागि थोरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिने किसानको भनाई छ । धेरै लगानी गरेर ठूलो मात्रामा पनि सजिलै व्यवसाय सञ्चालन गर्न सकिने किसानहरु बताउँछन् । अर्थात् यो साना ठूला दुबै पूँजि भएका व्यक्तिले गर्न सक्ने व्यवसाय हो । पछिल्लो समय महको माग पनि बढ्दै गएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १ का सानुमाया पौडेल भन्नुहुन्छ, “पहिले–पहिले मान्छेले मह त्यति खादैन थिए । तर कोभिडपछि अझै आजभोली यसको महत्त्व बुझ्न थालेका छन् । महको माग निकै बढेको छ । जसले गर्दा फाईदा पनि बढ्दै गएको छ ।” कोभिडको समयमा अझै महको महत्त्व बढेकाले व्यवसाय प्रवर्धनमा सहयोग पुगेको पौडेलको भनाई छ ।
भरतपुर महानगरपालिका भित्र एक सय बढि मौरी पालक किसान छन् । मौरी पालनलाई प्रोत्साहन गर्न महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आएको छ । महानगरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेल मौरी पालन गर्ने किसानलाई अनुदान दिने, घारको व्यवस्था गर्ने र किसानको माग चाहना अनुसारको कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुहुन्छ ।
मौरी, व्यावसाय र आम्दानीका हिसाबले मात्रै होइन, पृथ्वीमा मानव जीवनको लागि आवश्यक किरा हो । खानाको खोजीमा प्रत्येक दिन १० किलोमिटरसम्म यात्रा गर्ने मौरीले मानिसलाई मेहनतको पाठ पनि सिकाइरहेको हुन्छ ।
पछिल्ला वर्षहरुमा चितवनमा मौरी पालन गर्ने किसानहरु बढ्दै गएका छन् । नेपालमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म व्यवसायिक रुपमा ७० जिल्लामा मौरी पालन भइरहेको छ । झन्डै १० हजार किसान मौरी पालन व्यवसायमा जोडिएका छन् । ति किसानले विभिन्न जातका झण्डै तीन लाख घार मौरी पालिरहेका छन् । जसबाट राम्रो आम्दानी पनि भएको छ ।