शंखदेवी वनको साधारण सभा सम्पन्न, अध्यक्षमा ६ जनाको उम्मेदवारी

२०७८ माघ ८ शनिबार १८:५२:०० मा प्रकाशित


गैँडाकोट । शंखदेवी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वनको कार्यालय भागरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सामुदायिक वनले काम गर्दा स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्नुपर्ने बताउनुभयो । शंखदेखी वन महिलाले नेतृत्व गरेको वन रहेको र यहाँका गतिविधि हेर्दा उदाहरणिय वनका रुपमा स्थापित हुन सफल रहेको बताउनुभयो ।
वनका अध्यक्ष सीता सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षणसँगै चुहार खोलामा पोखरी निर्माण, वनदेवी मन्दिर निर्माण लगायतका क्रियाकलाप गरिएको बताउनुभयो ।
प्रगति तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै समूहका सचिव मेघनाथ सापकोटाले पर्यटकिय क्षेत्रको विकाससँगसँगै संरक्षणमुखि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । गरिबी निवारण तथा जीविकोपार्जन लगायत उपभोक्ताहितका कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिनुभयो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नारायण शाहीले वन आर्थिक रुपमा सबल रहेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट १४ का वडा अध्यक्ष कोकिसरा रानामगरले वनलाई वडाको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रबहादुर गन्द्रमा मगरले प्रस्तुत गर्नुभएको थियो ।
वनको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । सर्वसम्मत नयाँ कार्यसमिति चयनका लागि छलफल चलिरहेको निर्वाचन समितिका संयोजक श्रीराम पराजुलीले जानकारी दिनुभयो । अध्यक्षका लागि ६ जना, उपाध्यक्षका लागि २ जना र सचिवका लागि २ जनाको उम्मेदवारी परेको छ ।
कोभिड १९ को संक्रमण बढेका कारण २५ जना भन्दा बढि भेला हुन प्रशासनले रोक लगाएपनि अझै पनि ठाउँ ठाउँमा कार्यक्रम हुँदै आएका छन् ।