नवलपुरमा कावासोतीपछि गैँडाकोटमा बढि सक्रिय संक्रमित

२०७८ माघ ८ शनिबार १८:१९:०० मा प्रकाशित

प्रेम क्षेत्री,
गैँडाकोट । नवलपुरमा दिनानु दिन कोभिड संक्रमण तिव्र देखिएको छ । नवलपुरमा शनिबार मात्रै ७३ जना संक्रमित थप भएका छन् । जिल्लामा पछिल्ला दिनहरुमा निरन्तर बढेको देखिन्छ । गत पौष २७ गते जिल्लामा सक्रिय संक्रमितको सख्ंया ४६ रहेको थियो १२ दिनको अवधिमा त्यो बढेर ५ सय ५९ पुगेको छ । शनिबारको स्वास्थ्य कार्यालय नवलपुरको रिपोर्ट अनुसार सक्रिय संक्रमितको सख्ंया ५ सय ५९ जना रहेका छन् ।
सबैभन्दा धेरै कावासोती र त्यसपछि गैँडाकोटमा सक्रिय संक्रमित रहेका छन् । कावासोतीमा २ सय १३ जना र गैँडाकोटमा १४० जना सक्रिय संक्रमित रहेका छन् । आज थपिएका ७३ जना मध्ये सबैभन्दा धेरै गैँडाकोटका २८ जना रहेका छन् । देवचुलीका ४, कावासोतीका १३, मध्यविन्दुका ११, विनयी त्रिवेणीका ११, हुप्सेकोटका २, बुलिङटारका १ र अन्य जिल्लाका ३ जना रहेका छन् ।    
नवलपुरमा अहिलेसम्म कोरोनाबाट १ सय ७३ जनाले ज्यान गुमाएका छन् भने यस वर्ष मात्रै कोभिडबाट १ सय ४१ जनाले ज्यान गुमाउनु परेको छ । कुल सङ्क्रमित ११ हजार ५ सय ३० मध्ये ८ हजार ४ सय १९ जना निको भइसकेका छन् । जिल्लामा अहिलेसम्म २५ हजार ४५ जनामा एण्टिजेन र पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।