तीन दिन कक्षामा पढ्ने, तीन दिन खेतबारीमा काम गर्ने

२०७८ माघ ६ बिहीबार ०९:५७:०० मा प्रकाशित


चितवन ।

माडीको जनकल्याण माध्यामिक विद्यालयका विद्यार्थीहरुले जीवनपयोगी ज्ञान हासिल गरिरहेका छन् । उनिहरुले विद्यालय क्षेत्रभित्रै कृषि कर्म गर्दछन् । यसबाट हुने आम्दानीले विद्यालय सञ्चालनमा सहयोग पनि पुगेको छ । विद्यार्थीहरुले पनि व्यवहारिक ज्ञान सिक्न पाएका छन् । विद्यालय पोशाकमा ठाँटिएका विद्यार्थीहरु कृषि कर्ममा रमाउँछन् । जनकल्याण माध्यामिक विद्यालय पुग्दा विद्यार्थीहरु हाँस चराइरहेका थिए । उनिहरु मध्येका केही साथीहरु खेती लगाउने, गोडमेल गर्ने समेत काम गर्ने गर्दछन् । उनिहरुलाई देख्दा जो कोहीले विद्यार्थीलाई काम लगाएको देखिए पनि खासमा उनिहरु पढिरहेका थिए ।  उनिहरुले आफ्नै कृषि विषयको अध्ययन गरिरहेका थिए । उनिहरु ३ दिन कक्षाकोठामा पढ्छन् भने बाँकी ३ दिन  विद्यालय आसपासको खेतबारीमा काम गर्दछन् । 


कल्टीभेटर चलाउँदै गरेका अशिष थापा हसिलो अनुहारमा भेटिए । उनि जनकल्याण माध्यामिक विद्यालयका कक्षा १० पढ्ने बिद्यार्थी हुन । उनलाई कल्टीभेटर चलाउन, ड्याङग बनाउन मात्र हैन विरुवाको कसरी रेखदेख गर्दा राम्रो उत्पादन दिन्छ भन्ने पनि थाहा छ । सो विद्यालयमा अध्ययनरत विद्यार्थीले घर नजानेका काम विद्यालयमा सिक्न पाउँछन् । यसरी काम गर्दै सिक्न पाउँदा खुशी लागेको थापा बताउँछन् ।  
सुचन सापकोटा पनि विद्यालयमा यसरी अध्ययन गर्न पाउँदा दङ्ग छन् । कृषिप्रधान देशलाई साँच्चिकै कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य उनको छ । कृषि इन्जिनिएर बनेर नयाँ नयाँ प्रबिधि भित्राउने सपना देखेका सुचनलाई सैद्धान्तिक पढाइलाई व्यवहारमा र सिकाइमा जोड्ने वातावरण विद्यालयले बनाएको बताउँछन् । उनले विद्यालयमा सिकेका ज्ञान र सिपलाई घरमा परिवालाई पनि सिकाउने गरेका छन् ।  
मनिसा सुनार शिक्षक र साथीहरुसँग खेतबारीमा काम गर्दछिन् । यसरी अध्ययनकै बिषयमा काम गर्दा ज्ञान बढ्ने र स्वास्थ्यलाई पनि फाइदा पुग्ने उनको विश्वास छ । अध्ययन र सिकाइले नै उनलाइ कुन बाली कहिले लगाउने ? कसरी लगाउने ? भन्ने ज्ञान दिएको बताउँछिन् । पढेर मात्र कुनै कुरा नसिकिने र त्यसका लागि व्यवहारमा उतार्न आवश्यक रहेको सुनारको बुझाइ छ ।  


टेक बहादुर विकले विद्यालयमा नै कल्टीभेटर चलाउने, मौसम अनुसार तरकारी र अन्नबाली लगाउँछन । उनले कृषि कर्म विद्यालयसंगै घरमा पनि गर्छन् । यसरी पढाइसंगै काम गर्नाले बानी परेको उनको भनाई छ । पछि गएर काम नपाएर घर यत्तिकै बस्नुभन्दा आफैँले केही ज्ञान र सिप विकास गरेर बेरोजगार बस्नुपर्देन भन्ने उनको बुझाइ छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बिष्ट विद्यालय नै विद्यार्थीको लागि उदाहरण बन्न र सकारात्मक उर्जा दिन विद्यालयले यस्तो सिकाइ अगाडी बढाएको बताउँछन् ।  
विद्यालयले विद्यार्थीलाई श्रमलाई सम्मान गर्न सिकाउन, रोजगारमुलक र सिपमुलक शिक्षालाई प्रोत्साहन गर्न कृषि विषय पढाउन थालिएको प्रधानाध्यापक रामबहादुर जिशीले बताए । विद्यालयले सिक्दै कमाउदै अभियान लिएर अगाडी बढेको छ । ६ लाखको लगानी लिएर खेतीबाली र हाँसपालन गरिरहेको र विद्यार्थीले व्यवहारिक ज्ञान पनि हासिल गरेको उनि बताउँछन् । मुनाफा विद्यालयकै खातामा जम्मा गर्दै आएको जिशीले बताए ।  
विद्यालयमा नै व्यवहारिक र सिपमूलक शिक्षा पाउँदा विद्यार्थी, अभिभावक खुशी छन । यसरी अध्ययनलनई सीप सँग जोड्न सके स्वरोजगारको वातावरण सिर्जना हुने र आत्मनिर्भर बनाउन शिक्षाले टेवा पु¥याउन सक्ने शिक्षक, अभिभावक र बिद्यार्थीहरु बताउँछन ।