श्री स्वस्थानी व्रत आजदेखि सुरु हुँदै

२०७८ माघ ३ सोमबार ०८:४९:०० मा प्रकाशित


सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । 
एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् । 
श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।
स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ ।