योगाको महत्त्व र सचेतना प्रदान गर्दै गैँडाकोटमा योग शिविर सम्पन्न

२०७८ माघ १ शनिबार १३:३६:०० मा प्रकाशित


गैँडाकोट । योगाको महत्त्व र सचेतना प्रदान गर्दै गैँडाकोटमा एक दिने योग शिविर सम्पन्न भएको छ । सातौं राष्ट्रिय योग दिवसको अवसरमा गैँडाकोट नगरपालिका गैँडाकोट आयुर्वेद औषधालयको आयोजनामा कालिकाचोक स्थित कालिका माध्यमिक विद्यालयमा योग शिविर गरिएको हो ।
योगाको उद्घाटन गर्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले खानपानमा ध्यान नदिएका कारण दिन प्रतिदिन मानिसहरुको स्वास्थ्य बिग्रदै गएको बताउनुभयो । शरीरलाई चलायमान गराउन योगसाधना गर्न आवश्यक रहेको बताउँदै उहाँले खानपानमा ध्यान पु¥याउनपर्ने बताउनुभयो । ऋषीमुनिहरुले योगसाधनाको माध्यमबाट शरीरलाई चलायमान बनाउने गरेको प्रंसग उल्लेख गर्दै उहाँले विभिन्न महामारी आउनुको कारण खानपिन पनि रहेको बताउनुभयो । दिनचर्या सुधार गर्न पनि योग र साधनामा उहाँले जोड दिनुभयो ।
गैँडाकोट आयुर्वेद औषधालय व्यवस्थापन समिति अध्यक्ष एवं गैँडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजालले योगको महत्त्व र सचेतना प्रदान गर्न कार्यक्रम गरिएको बताउनुभयो । उहाँले कार्यक्रमलाई भब्य तरिकाले गर्ने मनसाय रहेपनि कोभिड–१९ का कारण भव्य रुपमा कार्यक्रम गर्न नसकिएको बताउनुभयो । उहाँले नियमित योग गरि स्वस्थ रहन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पतञ्जली योग महिला समिति चितवनकी अध्यक्ष अस्मिता पाण्डेले योगा अभ्यास गराउनुभएको थियो । उहाँले नियमित योगले विभिन्न रोग निको हुने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने बताउनुभयो ।  
गैँडाकोट आयुर्वेद औषधालय व्यवस्थापन समिति उपाध्यक्ष गीता तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा गैँडाकोट ८ का वडा सदस्य हरिमाया अधिकारी, कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण गैँडाकोट आयुर्वेद औषधालयका प्रमुख, वरिष्ठ कविराज निरिक्षक विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो । उहाँले स्वस्थ शरीर राख्न योगा र आयुर्वेद विज्ञानले समेत सघाउ पुग्ने पुष्टि गरिसकेको बताउँदै यसको अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।