गैँडाकोट १८ का विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

२०७८ पौष २७ मंगलबार १७:५९:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ का विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटले १८ नम्बर वडाका ६ वटा सामुदायिक विद्यालयका ५० जना विद्यार्थीलाई मंगलबार न्यानो कपडा वितरण गरिएको हो ।
सामुदायिक वनहरुबाट भएको आम्दानीको केही प्रतिशत रकम संकलन गरि सामुदायिक विकासमा खर्च गर्ने कार्य अनुरुप न्यानो कपडा वितरण गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष डिल्लीराम सापकोटाले पचास हजार बराबरको सामान वितरण गरिएको जानकारी दिनुभयो । विपन्न परिवारका विद्यार्थीलाई थोरै भएपनि राहत हुने उहाँको विश्वास छ ।
न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले विद्यार्थी नै यहाँको उज्यालोको ज्योती भएकोले सबैले विद्यार्थीको हकहितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा जलदेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक भिमबहादुर श्रेष्ठले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि विद्यार्थीको लागि यस्तै सहयोगको कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नुभयो ।
गैंडाकोट नगरपालिका वडा नम्बर १८ को वडा कार्यालयमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण सामुदायिक वन स्थानीय उपभोक्ता महासंघ गैँडाकोटको सचिव निर्मला कँडेलले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानध्यापक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिती रहेको थियो ।