रेडियोकर्मीको प्रश्नपछि जलुकेको गज्जबको काम, सबैले गरे प्रशंसा

२०७८ पौष १७ शनिबार १९:१६:०० मा प्रकाशित


गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आगलागि नियन्त्रणका लागि गज्जबको काम गरेको छ । आगलागि नियन्त्रणका लागि वरुण यन्त्रले पानी भर्न मिल्ने गरि फायर हाइड्रेन निर्माण गरेको छ । आगलागि नियन्त्रणका क्रममा बरुण यन्त्रको पानी सकिएपछि फायर हाइड्रेनबाट पानी भर्न मिल्ने व्यवस्था जलुकेले मिलाएको छ ।

जलुके खानेपानीको २० औँ वार्षिक साधारणसभाका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आगलागि नियन्त्रणका लागि जलुकेले प्रंशनीय काम गरेको बताउनुभयो । फायर हाइड्रेनको अवलोकन गर्दै मुख्यमन्त्रीले यसले यस आसपासका क्षेत्रमा हुनसक्ने संभावित दुर्घटनाबाट जोगाउन ठूलो मद्धत पुग्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेल र गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले जलुकेले सुरक्षित खानेपानी वितरणसंगै उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै फायर हाइड्रेन निर्माण गरेकोमा धन्यवाद दिनुभयो । यसलाई अन्य खानेपानी संस्थाले पनि अनुकरण गर्न योग्य रहेको बताउनुभयो । 


जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले भन्नुभयो “विजय एफएमको कार्यक्रम सुरक्षित खानेपानी स्वस्थ जिन्दगानीमा रेडियो कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा प्रस्तोताले फायर हाइड्रेनका सन्दर्भमा प्रश्न गर्नुभएको थियो । त्यहि कार्यक्रममा हामीले यसलाई पूर्णता दिने बताएको थिएँ । अहिले यसले साकार पाएको छ ।” जलुके खानेपानी सुरक्षित खानेपानी वितरणसंगै पानीका माध्यमबाट उपभोक्ताका समस्या समाधानका लागि संभावित सबै उपायहरुका विषयमा जलुके संवेदनशील रहेको अध्यक्ष चालिसेले बताउनुभएको छ । 


जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गैँडाकोट १ मौलाकालि फेदी धार्मिक सेवा समितिको कार्यालय नजिकै फायर हाइड्रेन निर्माण गरेको हो ।