नेवार समुदायमा आज योमरी पुन्हि मनाईंदै

२०७८ पौष ४ आइतबार ०७:४३:०० मा प्रकाशित


आज देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदै छन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरी पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछा कोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । नयाँ धानको चामलको यस्ता भक्काहरूलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारिक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।
योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाण्डौवासी ले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा शदिऔंदेखि चलि आएको हो ।