मौलाकाली वनले चुहार खोलामा ड्याम बाँधेर ताल बनाउने

२०७८ मङ्सिर १२ आइतबार १६:४५:०० मा प्रकाशित


गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको १९औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा बोल्दै मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले ८ करोडको लगानीमा चुहार खोलामा ड्याम बाँधेर ताल बनाउन लागिएको बताउनुभयो । यसका लागि आफुहरुलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउँदै उहाँले अबको केही समयमा काम सुरु गर्ने बताउनुभएको छ ।

साधारण सभा कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख बिष्णुकुमारी कंडेलले मौलाकाली सामुदायिक वनले गरेको काम प्रशंसा योग्य रहेको बताउनु भयो । उहाँले वनले काठजन्य बिरुवा रोप्नमा मात्र नभई फलफुलजन्य बिरुवामा पनि जोड दिन आग्रह गर्नुभएको छ । गैँडाकोट नगरपालिका १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले शैक्षिक सुधार र गरिबी निवारणमा निकै ठूलो भूमिका खेलेको बताउनुभयो ।


डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्यसिङ गुरुङले सामुदायिक वनले पर्यटकीय क्षेत्रको रुपमा वनलाई विकास गर्न सके यसबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले अब सामुदायिक वन यता तिर पनि लाग्न आग्रह गर्नुभएको छ । उपभोक्ताको तर्फबाट मन्तव्य राख्दै शोभाकुमारी सुवेदीले वनको संरक्षणमा उपभोक्ताको पनि सहभागिता हुनुपर्ने बताउनुभयो । यसका लागि वनले जोडदिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधी, वडाका जनप्रतिनिधी, वनका पदाधिकारी, संघ सस्थाका प्रतिनिधी, लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनका सचिव देवकी मिश्र पौडेलले खण्ड नम्बर २ गंगानगर खानेपानी टंकी डाँडामा तारबार गरि कागतीका बिरुवा वृक्षरोपण गर्ने, मौलाकाली ग्रीन पार्क क्षेत्रमा शार्वजनिक शौचालय निमार्ण गर्ने, युवालाई खेलकुदका लागि सहयोग गर्ने लगायतका मौलाकाली सामुदायिक वनले गर्ने बताउनुभयो । त्यस्तै आर्थिक प्रतिवेदन वनका कोषाध्यक्ष कमलप्रसाद कंडेलले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कंडेलले आर्थिक वर्ष २०७७÷०७८ का लागि वनमा अनुमानित १ करोड ३९ लाख ७० हजारको आय व्यय विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शशीचन्द्र सिग्देलले प्रस्तुत गर्नुभएको थियो भने अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन संयोजक वेदप्रसाद गौडेलले प्रस्तुत गर्नुभएको थियो । 
वनको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा वनका उपाध्यक्ष भगवान घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । वनमा हाल २२७६ जना उपभोक्ता सदस्य रहेको समूहका कार्यालय सचिव अर्जुन सापकोटाले जानकारी दिनुभयो ।