देशभर चिसो बढ्यो 

२०७८ मङ्सिर १२ आइतबार ०७:४९:०० मा प्रकाशित


गैँडाकोट । देशभर चिसो बढेको छ । अन्य दिनको तुलनामा आज निकै चिसो महसुस गरिएको छ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि सम्भावना छैन । यद्यपी स्थानीय प्रभावका कारणले प्रदूषण बढेका कारण आकाश खुल्न समय लाग्ने छ । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएको छ ।  

नेपालको पूर्वी भू–भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरुमा आन्शिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आईतबार दिउँसो देशका पहाडी भू–भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती  देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।