विकूलाई सहकारीको पाठशाला बनाउने, साधारण सभा सुरु

२०७८ मङ्सिर ११ शनिबार १७:५०:०० मा प्रकाशित


नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औं साधारण सभा कार्यक्रम सुरु भएको छ । क्षेत्रीय रुपमा गर्न लागेको साधारण सभा अन्तर्गत विकूले शनिबार इकाइ १ को साधारण सभा कावासोती १६ डण्डाबजार थारु राष्ट्रिय सङ्ग्राहलय परिसरमा सम्पन्न गरेको छ । यस इकाई अन्तर्गत ८ वटा सेवा केन्द्र रहेका छन् ।
सो अवसरमा विकू जीवन बिमा प्रिमियम ऋण र निःशुल्क एटिएम कार्ड आजको आजै कार्यक्रमको सुभारम्भ गरेको छ । विकू जीवन बिमा प्रिमियम ऋण अन्तर्गत त्रैमासिकरुपमा किस्ता तिर्नेगरि १ वर्ष अवधिको ऋण उपलब्ध गराईने र एटिएम निःशुल्क उपलब्ध गराईने संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । 
कार्यक्रममा बोल्दै विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले ४ चरणमा (स्थानमा) विकूका कार्यक्रम हुने बताउनुभयो । हाल संस्थामा १ लाख वढि सेयर सदस्य र करिब साढे ८ अरब पूँजी सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो । विकूले २२ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिएको बताउँदै उहाँले विकूलाई सहकारीको पाठशाला बनाउनेतर्फ अघि बढिरहेको बताउनुभयो । विकूले सदस्यको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गर्भदेखी स्वर्गसम्मका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।    
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले मध्यविन्दु नागरपालिकाले नगर क्षेत्रका महिलाहरुको सशक्तिकरणका लागि सहकारीमार्फत काम गर्नेगरि कार्यपालिकाले निर्णय गरेको बताउँदै विकूसँग सहकार्य गरिने बताउनुभयो । स्थानीय सरकारले गर्न नसकेका काम विकूले गरेको भन्दै विकूले आफ्नो नाराजस्तै सबैलाई खुसी तुल्याएको बताउनुभयो । 
मध्यविन्दु नगरपालिकाका उप प्रमुख ओमकुमारी महतोले विकूको प्रेरणाले मध्यविन्दुका महिलाहरुले बचत गर्न थालेपछि नगरका महिलाहरुको जीवनस्तर सुदृढिकरण भएको बताउनुभयो । बिहान बेलुका खाना पकाउँदा दैनिक एकमुठि चामल बचत गरेर महिनाभर संकलन भएको चामल र घरमा उत्पादन गरिएका कृषि सामाग्री बेचेर बचत गर्न थालेपछि आर्थिकरुपमा सबल भएको बताउनुभयो । 
विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले विकू स्थापनाका अवधारणाबारे जानकारी गराउँदै सहकारी क्षेत्रमा विकूले अग्रणी स्थान कायम गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, विकूका पूर्व अध्यक्ष हरिलाल सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यबाहक अध्यक्ष होमनाथ जैशी, उद्योग वाणिज्य संघ मध्यविन्दुका अध्यक्ष केदार पराजुली लगायतका अतिथिले साधारणसभाको शुभकामना व्यक्त गर्नुभयो ।   
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले आर्थिक वर्ष २०७७/०७८ मा कोभिडका प्रभावका बिच सहकारीले ९० प्रतिशत वित्तीय र ७० प्रतिशत गैरवित्तीय कार्यक्रम सम्पादन गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८/०७९ मा २३ वटा वित्तीय र ३८ वटा गैरवित्तीय कार्यक्रममार्फत सदस्यहितका कार्यक्रम गर्ने प्रस्ताव पेश गर्नुभयो । 
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष कालिदास गौडेलले संस्थाको कूल सम्पत्ती अघिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशतले वृद्धि भई ७ अरब ८८ करोड ३७ लाख ३९ हजार ६ सय ४६ पुगेको जानकारी दिनुभयो । २०७८ असार मसान्तसम्म १५ अरब ८३ करोड ६० लाख ऋण लगानी गरेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा भएको ६७ करोड ५३ लाख ६७ हजार ४६ रुपैयाँ कूल आम्दानी र ४७ करोड १७ लाख ५७ हजार १ सय ३२ रुपैयाँ खर्च भई सञ्चालन मुनाफा २० करोड ३६ लाख ९ हजार ९ सय १४ रुपैयाँ भएको जानकारी दिनुभयो । उहाँले आर्थिक वष २०७८/०७९ मा ८० करोड सेयर पूँजी, ८ अरब ८६ करोड बचत गर्ने लक्ष्य पेश गर्नुभयो ।   
लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कमल सुवेदीले वार्षिक कार्यक्रम कोभिडका कारण प्रभावित भएपनि प्रगति सन्तोषजनक रहेको बताउनुभयो । संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै विकूले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्दै अघि वढिरहेको बताउनुभयो । 
कार्यक्रममा विभिन्न विधामा पुरस्कृत एवम् सम्मान गरिएको थियो । विकूले मंसिर १८ गते अन्य सेवा केन्द्र अन्तर्गत देवचुली फारमचोक र मंसिर २५ गैंडाकोटमा साधारण सभा गर्ने कार्यक्रम तय गरेको छ ।