एकैपटक १५ सय बढिले गरे देवघाटधामको पूर्ण परिक्रमा 

२०७८ मङ्सिर १ बुधबार १७:४७:०० मा प्रकाशित

गैँडाकोट । कार्तिक शुक्ल बैकुण्ठचतुर्दशीको अवसर पारेर सन्तहरुको अगुवाईमा करिब १५ सय भक्तजनले एकैपटक ‘देवघाटधाम गण्डकी परिक्रमा’ गरेका छन् । देवघाटधाम क्षेत्र विकास समितिले ओगट्ने क्षेत्र तनह, चितवन र नवलपुरका विभिन्न धार्मिक स्थल र मन्दिरको परिक्रमा गरिएको हो । उनीहरुले २४ किलोमिटर यात्रा गरेका हुन् । सो क्रममा तनहुँतर्फ देवघाट वेणीसगंम, चितवनतर्फ देवघाट, हरिहर मन्दिर, वसपार्कहूँदै  नवलपुरतर्फ गैँडाकोटाको पुल्चोकहूँदै लक्ष्मीनृसिंह दिव्यधाम, मौलाकालिका मन्दिरहुँदै पुनःबेणीसम्म पुगेको थियो । 
धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ देवघाट क्षेत्र विकास समितिको आयोजनामा ‘देवघाटधाम गण्डकी परिक्रमा’ महोत्सव नामाकरण गरि यस क्षेत्रको परिक्रमा गरिएको हो । देवघाटधामको पूर्ण परिक्रमा, दुर्लभ देवनदिहरुको पूजन, सिद्ध हरिहर क्षेत्रको भ्रमण, धार्मिक नगरि नारायणगढको अवलोकन, प्रसिद्ध मौलाकालिका भगवतीको दर्शन, रमणीय पर्वतको परिक्रमा, धार्मिक पर्यटनको प्रवर्धन र वैदिक सनातल धर्मको प्रचार गर्दै परिक्रमा गरिएको हो । देवघाटबाट सुरु गरिएको परिक्रमामा उपस्थित यात्रीलाई गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलसँगै वडाध्यक्षहरु, राजनीतिक दलका नगर प्रमुख, धार्मिक संस्थाका प्रमुख एवं प्रतिनिधि, महिला समूहका प्रतिनिधि लगायतले स्वागत गरेका थिए ।  
सो अवसरमा नगर प्रमुख छत्रराज पौडेलले धार्मिक र पर्यटकिय क्षेत्रको विकास, संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारमा देवघाट क्षेत्र विकास समितिसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले गैँडाकोटमा भएका धार्मिक र पर्यटकिय क्षेत्रको संरक्षण र प्रवर्धन गरिने पनि बताउनुभयो ।