चार महिनामा गैँडाकोटको खर्च १३.३२ प्रतिशत 

२०७८ मङ्सिर १ बुधबार १३:३३:०० मा प्रकाशित

 

गैँडाकोट । गैँडाकोट नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा १३.३२ प्रतिशत प्रगति गरेको छ । नगरपालिकाले चौमासिक आय व्यय विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको यस अवधिमा १३.३२ प्रतिशत खर्च भएको जनाएको छ । चालु खर्च १७.९६ प्रतिशत र पूँजीगत खर्च ५.९३ प्रतिशत रहेको छ ।  
आर्थिक वर्षको साउन १ गतेदेखी कार्तिक मसान्तसम्म १२ करोड ५९ लाख ८८ हजार ४ सय ७० रुपैयाँ ८७ पैसा खर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । सार्वजनिक गरिएका खर्च शिर्षकमध्ये सबैभन्दा धेरै कर्मचारीको बैठक भत्तामा ५७.३४ प्रतिशत खर्च भएको उल्लेख छ । 
नगरपालिकामा ९४ करोड ५८ लाख २ हजार ९ सय ५२ रुपैयाँ प्रस्तावित आय रहेकोमा हालसम्म ४३ करोड, ८४ लाख २८ हजार ७ सय ५१ रुपैयाँ वास्तविक आय रहेको नगरपालिकाका लेखा अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
हालसम्म संघीय सरकारबाट १३ करोड ६९ लाख ५६ हजार, प्रदेश सरकारबाट ५४ लाख २२ हजार ७ सय ५० रुपैयाँ राजस्व बाडफाडबाट १ करोड ८० लाख १८ हजार ९ सय ९२, आन्तरिक स्रोतबाट २७ करोड ८० लाख ३१ हजार ८ रुपैयाँ वास्तविक आय रहेको उहाँले जानकारी दिनुभयो । 
चालु अर्थिक वर्षको यस अवधिसम्म २२ वटा शिर्षकमा खर्च शून्य रहेको लेखापाल जनक कार्कीले जानकारी दिनुभयो ।  पोशाक, औषधि उपचार खर्च, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, पदाधिकारी अन्य सुविधा, कर्मचारी कल्याण कोष, ईन्धन अन्य प्रयोजन, अन्य सेवा शुल्क, गैर वित्तीय व्यवसायहरुलाई चालु सहायता, स्थानीय तहलाई सःशर्त पूँजीगत अनुदान, सामाजिक सुरक्षा, उद्दार राहत तथा पुनस्र्थापना खर्च शून्य रहेको छ । त्यस्तै सवारी साधन तथा मेशिनर औजार भाडा, भैपरी आउने चालु खर्च, गैर आवासिय भवन निर्माण÷खरिद, निर्मित भवनको संरचनात्मक सुधार खर्च, सवारी साधन, फर्निचर तथा फिक्चर्स, विद्युत संरचना निर्माण, तटबन्ध तथा बाँध निर्माण, खानेपानी संरचना निर्माण, पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण र भैपरि आउने पूँजीगतको खर्च शून्य रहेको विवरणमा उल्लेख गरिएको छ ।