छठ पर्वको रौनक सुरु

२०७८ कार्तिक २३ मंगलबार ०५:४७:०० मा प्रकाशित


नवलपुर ः चितवनको नारायणी नदी किनारमा छठ पर्वको रौनक सुरु भएको छ । विगत दुई वर्षदेखि कोरोना माहामारीले रोकिएको छठ पर्व नारायणी किनारमा यस पटक भव्यरुपमा मनाउन लागिएको हो । करिव साँढे २ लाख खर्चमा गर्न लागिएको उक्त छठ पूजाको अहिले गेट बनाउने नदी किनारमा पूजा गरिने स्थलमा टेण्ट टाँग्ने र विद्युत् सप्लाईको काम अन्तिम अवस्थामा पुगेको छठ पूजा व्यवस्थापन समितिका संयोजक कृष्ण रौनीयारले बताउनुभयो । सोमबारबाट सुरु भएको छठ पूजा बिहीवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । चितवन तथा नवलपुरका विभिन्न ठाउँमा छठ पूजा हुने गरेको छ । 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन बिहान व्रतालुले स्नान गरेसँगै यो पर्वको विधि सुरु भएको छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाई शुद्ध खानपीन गर्छन् ।
मनोकांक्षाा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् । 
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।
बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो । 
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको सुरुआत भएको अनुयायीको भनाइ छ । यस वर्ष कार्तिक शुक्ल षष्ठी अर्थात् कात्तिक २४ गते बुधबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् कात्तिक गते बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । –विभिन्न अनलाइन र रासस)