नवलपुरमा गैँडाकोट बाहेक अन्य स्थानीय तहमा आज नेकपा एमालेको अधिवेशन हुँदै

२०७८ कार्तिक ९ मंगलबार ०७:५५:०० मा प्रकाशित


गैँडाकोट । नेकपा एमालेको कार्तिक ९ गते आजदेखि देशका ७५३ स्थानीय तहमा अधिवेशन हुँदैछ । देशका सबै स्थानीय तहमा सहमतिका आधारमा अधिवेशन गर्ने नेकपा एमालेको तयारी छ । ८ वटा स्थानीय तह रहेको नवलपुरमा पनि पालिका अधिवेशन हुँदै छ ।

गैँडाकोटको नगरकमिटीको अधिवेशन ११ गतेका लागि तय भएको छ भने अन्य पालिकाहरुको आज अधिवेशन हुने नेकपा एमालेका जिल्ला सचिव जीवन श्रेष्ठले विजय एफएमलाई बताउनुभयो । विजय एफएमको समाचार बुलेटिन विजय खबरमा बोल्दै सचिव श्रेष्ठले सबै पालिकाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन हुने जानकारी दिनुभयो ।

नेकपा एमालेभित्र यस पटक अन्तरपार्टी निर्देशनका कारण सार्वजनिक रुपमा उम्मेद्वारका आंकाक्षीले उम्मेद्वारी घोषणा गर्न पाएनन् भन्ने गुनासो छ नी भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो “सहमतिबाट छिटपुट वडा बाहेक सबै वडा अधिेशन टुंगीएको छ, नगरतहको अधिवेशनपनि सहमतिबाट टुंग्याउने भनेका हौँ ।

हामीले कुनै पनि उम्मेद्वारका आंकाक्षीहरुलाई दबाब दिएका छैनौँ । उहाँहरु आफ्नो उम्मेदवारी घोषणाका लागि स्वतन्त्र हुनुहुन्छ ।” 
पालिकाहरुमा कार्यकर्तामुखी भन्दापनि नेतामुखि नेतृत्व आउँछ भन्ने आरोपको खण्डन गर्दै श्रेष्ठले भन्नुभयो “वडातहको अधिवेशनबाट नेतामुखि नभएर नीतिमुखी नेतृत्व आएको छ । यसले पनि प्रष्ट पारिसकेको छ नेकपा एमालेले सहि नीति र सहि नेतृत्व चयनमा अघि बढ्न सक्छ भन्ने । ”  तसर्थ नेकपा एमाले सदैव नीति र विधिमा चल्ने पार्टी रहेको हुँदा त्यसमा कुनै समस्या नहुने सचिव श्रेष्ठले बताउनुभयो । 


सर्वसहमतिबाट नेतृत्व छनौटका लागि जिल्ला नेतृत्वको भूमिका के हुन्छ ? भन्ने हाम्रो प्रश्नमा श्रेष्ठले जिल्लाले समन्वय र सहजीकरण मात्र गर्ने र दबाब र प्रभाव पर्ने कुनै क्रियाकलापमा जिल्ला नेतृत्वको टिमले नगर्ने बताउनुभएको छ ।