बौंदीकालीमा ४० जना बालविकास सहजकर्ताहरूका लागि ३ दिने ई.सी.डी. पुनर्ताजगी कार्यशाला सुरु

शिक्षा नै विकासको मुख्य पूर्वाधार होः अध्यक्ष ओझा

२०८३ जेठ १० आइतबार १७:२८:०० मा प्रकाशित

बौंदीकाली, नवलपुर। बालबालिकाहरूको प्रारम्भिक सिकाई र विकासलाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यका साथ नवलपुरको बौंदीकाली गाउँपालिकामा बालविकास सहजकर्ताहरूका लागि ३ दिने ’ई.सी.डी. -ECD_पुनर्ताजगी कार्यशाला’ आज (आइतबार) देखि सुरु भएको छ ।

बौंदीकाली गाउँपालिका र ‘राइट फोर चिल्ड्रेन’ को संयुक्त आयोजना तथा सहकार्यमा कार्यशाला आजदेखि सुरु भई आगामी जेठ १२ गतेसम्म सञ्चालन हुनेछ । कार्यशालामा स्थानीय तहका विभिन्न विद्यालयमा कार्यरत कुल ४० जना बालविकास सहजकर्ताहरूको उत्साहजनक सहभागिता रहेको छ।

गाउँपालिकाकी सहायक शिक्षा अधिकृत गीता नेपालको अध्यक्षतामा कार्यशालाको उद्घाटनसत्र सम्पन्न भएको छ । कार्यक्रममा बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष प्रकाश ओझाले प्रारम्भिक बालविकास र शिक्षाको जग बलियो हुनुपर्नेमा जोड दिनुभयो। शिक्षाको महत्वबारे प्रष्ट पार्दै उहाँले “शिक्षा सबैभन्दा उत्तम विकासको पूर्वाधार भएको, मानव जीवन र समाजको सर्वाङ्गिण विकासका लागि शिक्षाले नै आधार तय गर्ने भएकाले मानव विकासमा यसले अत्यन्तै गहन भूमिका खेलिरहेको बताउनुभयो । 

कार्यक्रमको सुरुमा राइट फोर चिल्ड्रेनका सिकाई परियोजना व्यवस्थापक सूर्य गैरेले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई शब्दद्वारा स्वागत गर्दै कार्यशालाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।


कार्यक्रममा प्रयास परियोजना, तथ्याङ्क विभागकी अधिकृत स्मृति गुरुङ, प्रयास परियोजनाका सामाजिक परिचालकद्वय भुवन सापकोटा र लिजा कोइराला, तथा विद्यालय सहजकर्ता सम्झना विक लगायतका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको छ।
३ दिनसम्म चल्ने उक्त सघन कार्यशालामा प्रशिक्षकद्धय तीर्थराज रिमाल र श्याम सुन्दर लामिछानेले ४० जना सहजकर्ताहरूलाई बालबालिकाहरूको मनोविज्ञान बुझ्ने, खेल तथा मनोरञ्जनात्मक विधिबाट सिकाउने र आधुनिक ई.सी.डी. अभ्यासहरूका बारेमा प्रयोगात्मक ज्ञान प्रदान गर्नुहुने छ ।


समग्र कार्यशाला कार्यक्रमको कुशल सहजीकरण सिकाई परियोजनाका फिल्ड अफिसर ऋषिराम पौडेलले गर्नुभएकोे छ।
स्थानीय तह र साझेदार संस्थाको यस किसिमको सहकार्यले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।