गैँडाकोट ५ को स्वास्थ्य चौकी भवन हस्तान्तरण 

२०७८ असोज २४ आइतबार १७:४५:०० मा प्रकाशित


गैँडाकोट ।

गैँडाकोट वडा नम्वर ५ को नवनिर्मित स्वास्थ्य चौकी भवन, स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई आईतबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई चितवनको भवनतर्फको कूल तीन करोड ४४ लाख ८५ हजार ४३६ रुपैयाँको बजेटमा भवन निर्माण भएको हो । भवन निर्माणको नागार्जुन जेजे आइभी कम्पनीसँग दुई करोड ३६ लाख ८५ हजार पाँचसय ५० रुपैयाँमा सम्झौता गरि ७ महिना अगावै निर्माण सम्पन्न गरेको हो । 
हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट वडा नम्वर ५ का वडाध्यक्ष नवराज कंडेलले दशैं र तिहारको बीचमा सेवा प्रदान गर्नेगरि तयारी भईरहेको बताए । नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य सेवा पु¥याउन यसले थप मद्दत मिल्ने बताउँदै चिकित्सक सहितको सेवा दिने बताए । 
साना–साना स्वास्थ्य समस्याकै कारण नारायणी पारी चितवन जानुपर्ने अवस्थाको अन्त्य हुने नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले बताईन् । बर्थीङ सेन्टर सञ्चालनमा आएपछि महिलाका लागि बिशेष सहज हुने वडा सदस्य पार्वती सापकोटाले बताईन् । स्वास्थ्य सबैभन्दा ठुलो धन भएकाले वडावासीलाई सुबिधा सम्पन्न अस्पतालको झल्को दिने गरि स्वास्थ्य सेवा उपलब्ध गराउने वडा सदस्य हरिप्रसाद ढकालले बताए । स्वास्थ्य चौकी प्रमुख सरला कुमालले दशैँ लगत्तै स्वास्थ्य चौकीबाट बर्थीङ सेवा दिन सामाग्री व्यवस्थापन गरेर सेवा दिइने बताईन् । 
गार्डेन, क्यान्टीन र पार्किङको सुविधा सहित बनेको स्वास्थ्य चौकीको भुईं तल्लामा स्वास्थ्य सेवाहरु प्रदान गरिने कोठाहरु रहेका छन् भने पहिलो तलामा तालिम, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, आवासीय सुविधाका कोठाहरु सहितको भवन निर्माण भएको हो ।