नन्दन सामुदायिक वनको २७ औँ वार्षिक साधारण सभा सम्पन्न 

२०८२ मङ्सिर २० शनिबार १८:४८:०० मा प्रकाशित

गैंडाकोट । नन्दन सामुदायिक वनको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार समुहको परिसरमा भएको कार्यक्रममा उपभोक्ता सदस्यहरूको लागि बिउबिजन बितरण गदै करेसाबारीमा उत्पादन गरेर विषाधी रहित ताजा तरकारी उपभोग गर्न प्रोत्साहन गरिएको थियो ।


कार्यक्रममा वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सचिव मोहनराज काफ्लेले वर्षभरिमा कम्तीमा एक दिन भएपनि वनलाई समय दिन उपभोक्तालाई आग्रह गर्नुभयो । उहाँले महिलाहरूको नेतृत्वले पनि वनलाई हाँक्न सक्छ भन्ने उदाहरण नन्दन वनले देखाएको बताउनुभयो ।


त्यस्तै, डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत विष्णु अधिकारीले अब वनले जीविकोपार्जन सम्बन्धी उद्यम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा सबडिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले अब वनले संरक्षणमुखीभन्दा पनि उत्पादनमुखी भई उद्यम विकासमा काम गर्नुपर्ने बताउनुभयो । 


सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य कमल पराजुलीले सामुदायिक वन गरिबी न्यूनीकरणका लागि जीविकोपार्जनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले तालिमका लागि तालिम नभएर, तालिमबाट जीविकोपार्जन गर्न सक्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।


सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले समूहले एउटा सबल र सक्षम तरिकाले अफ्ना गतिविधिहरू उपभोक्ता सदस्यहरुको हितमा गरेको बताउनुभयो ।

 

कार्यक्रममा समूहका सचिव कमला शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । त्यस्तै, समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष डिला शर्मा सुबेदीले आर्थिक वर्ष ०८१÷०८२ को आय-व्यय विवरण र प्रस्तावित आम्दानी-खर्च प्रस्तुत गर्नुभएको थियो ।


लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक माधव न्यैपानेले वन समूहले गरेका कामहरूको प्रशंसा गर्दै सुझाव दिनुभएको थियो ।  


त्यस्तै स्वःअनुगमन तथा मूल्यांकन समितिका संयोजक झलक राज शर्माले वनले गरेका सबल पक्षको चर्चा गर्दै सुझाव दिनुभएको थियो । 


त्यस्तै कार्यक्रममा समूहका पूर्व अध्यक्ष घनश्याम कँडेल, सम्पूर्ण सामुदायिक वनकोतर्फबाट मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा, उपभोक्ताको तर्फबाट डिलाराम सापकोटा, टोल विकासको तर्फबाट पद्मादेवी पद्मा सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा समूहका पूर्व अध्यक्ष बालकृष्ण गौडेल, गैंडाकोट वार्ड नं २ का अध्यक्ष प्रकाश सापकोटा ,गैंडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापगाईं ,नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रराज सापकोटा, जय श्री सामुदायिक वनको अध्यक्ष भीमबहादुर कुमाल, स्थानीय वन महासंघ अध्यक्ष निर्मला कँडेल लगायत बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।


नन्दन सामुदायिक वन समुहको अध्यक्ष हरिमाया अधिकारीको अध्यतामा भएको कार्यक्रममा समूहका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव कमला शर्माले गर्नुभएको थियो ।