नवलपुर दुग्ध उत्पादक सहकारी संघका नयाँ पदाधिकारीले लिए शपथ, संघले पायो नयाँ नेतृत्व
नवलपुर । नवलपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका नव-निर्वाचित पदाधिकारीहरूले आइतबार एक विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जिल्ला सहकारी संघ लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समिति संयोजक श्यामसुन्दर लामिछानेले सबै पदाधिकारी र सदस्यहरूलाई शपथ दिलाउँदै प्रमाणपत्र वितरण गर्नुभयो ।
शपथ समारोह औपचारिक रुपमा सपथ गर्दै नव–निर्वाचित अध्यक्ष रुद्र प्रसाद सुबेदीसहित सम्पूर्ण टीमले सहकारी सञ्चालनमा पारदर्शिता, उत्तरदायित्व र सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभयो ।
शपथ ग्रहणसँगै संघले नयाँ नेतृत्व पाएको छ। अध्यक्षमा रुद्र प्रसाद सुबेदी, उपाध्यक्षमा सितादेवी गैरे, सचिवमा निर्मल न्यौपाने, कोषाध्यक्षमा बिनिता डुम्रे र सदस्यहरूमा सिता सुबेदी, प्रेमराज ढुंगाना तथा ज्ञानेन्द्र प्रसाद पाण्डेय चयन भएका छन् ।
यस्तै, सहकारीको वित्तीय पारदर्शिता निगरानी गर्ने उद्देश्यसहित हरिप्रसाद काफ्ले संयोजक रहेको लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ, जसमा दानबहादुर के.सी. तथा सिता चापागाईं सदस्य रहेका छन् ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष सुबेदीले दुग्ध उत्पादन, किसान हित, बजार व्यवस्थापन र सहकारी सेवाको गुणस्तर सुधारलाई नेतृत्वको प्रमुख एजेन्डामा राखिने बताउनुभएको छ । उहाँले सहकारी सदस्यहरूको विश्वास र अपेक्षालाई पूरा गर्न नयाँ समितिले योजनाबद्ध रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नवगठित समितिले अब छिट्टै आगामी कार्ययोजना सार्वजनिक गर्दै सहकारीको सेवा र पहुँच विस्तारमा काम अघि बढाउने तयारी गरेको छ।