तनहुँमा खाद्य नमूना सङ्कलन गरिँदै
तनहुँ । तनहुँ जिल्लामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खाद्य पदार्थको नमूना सङ्कलनलाई तीव्र पारिएको छ । उपभोक्तालाई स्वच्छ खाद्य पदार्थको आपूर्ति गराउने उद्देश्यसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन गर्दै आएको हो ।
पाँच वर्षदेखि नियमित रूपमा खाद्य पदार्थको नमूना सङ्कलन गरी परीक्षण गर्न थालिएको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयले नियमित रूपमा बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा खाद्य पदार्थको नमूना सङ्कलन गरी परीक्षण गरिन्छ । यसले उपभोक्तालाई स्वच्छ खाद्य पदार्थ उपयोग गर्न पाउने हक सुनिश्चित गर्न मद्दत गरेको छ ।”
आचार्यले आर्थिक वर्ष २०८१र८२ मा एक सय २४ नमूना सङ्कलन गरिएको बताउँदै तीमध्ये नौ वटा नमूना प्रतिकूल देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०-८१ मा एक सयमध्ये नौ वटा प्रतिकूल, आव २०७९-८० मा एक सय १३ मध्ये १८, आव २०७८-७९ मा एक सय १० मध्ये १८ र आव २०७७-७८ मा एक सय दुई नमूना सङ्कलन गरिएकामा सात वटा प्रतिकूल देखिएका हुन् ।
आव २०८१-८२ मा तेल तथा घ्यूजन्यका १०, फल तथा सागपातका १८, मसलाका नौ, चियाकफीका छ, नूनका तीन, खाद्यान्न दलहनका ४१, प्रशोधित पिउने पानीका १३, गुलियो पदार्थका तीन, कन्फेक्सनरीका सात, हलुका पेयपदार्थका चार, अन्यका छ र अन्नमा आधारित खाद्यान्नका चार वटाको नमूना सङ्कलन गरिएको आचार्यले जानकारी दिनुभयो । कार्यालयले सो आवमा १७ वटा मुद्दा दायर गरेको थियो । उहाँले भन्नुभयो, “१३ वटा मुद्दा क्षेत्राधिकार रहेको कार्यालयमा प्रेषित गरिएका छन् ।”
कार्यालयले सोही वर्ष ८० खाद्य बजार अनुगमन गर्ने लक्ष्य राखेकामा एक सय ४४, चार दाना बजार अनुगमन गर्ने लक्ष्य राखेकामा १३, ५० होटल रेष्टुरेन्ट अनुगमन गर्ने लक्ष्य राखेकामा एक सय छ, २४ खाद्य उद्योग अनुगमन गर्ने लक्ष्य राखेकामा दुई सय २४, चार हाटबजार मेला महोत्सव अनुगमन गर्ने लक्ष्य राखेकामा पाँच, १२ संवेदनशील खाद्य पदार्थ अनुगमन गर्ने लक्ष्य राखेकामा ३४, आठ खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उजुरी तथा गुनासो सम्बोधन गर्ने लक्ष्य राखेकामा २२ प्रगति हासिल गरेको जनाएको छ ।
तनहुँसहित मनाङ, लमजुङ, गोरखा र नवलपुर कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । व्यास नगरपालिका-१० बैरेनीमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जनाउँदै प्रमुख आचार्यले जग्गा प्राप्त भएपछि बाँकी प्रक्रिया अघि बढाइने बताउनुभयो ।
कार्यालयले खाद्य तथा दाना उद्योगहरू नियमित निरीक्षण, नियमन गर्ने, अनुमतिपत्रका लागि सिफारिस गर्ने, खाद्य, दाना बजार, होटल, रेष्टुरेन्ट, हाटबजार, मेला महोत्सवलगायत सेवामूलक क्षेत्रमा स्वच्छतासम्बन्धी अनुगमन तथा निरीक्षण गर्ने, खाद्य तथा दाना पदार्थको नमूना सङ्कलन गरी जाँच र विश्लेषणका लागि प्रेषित गर्ने, कैफियत प्राप्त नतिजा उपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा तथा अनुसन्धान अभियोजन गर्ने, खाद्य स्वच्छता, गुणस्तर र पोषणसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रदेश र स्थानीय तहसँगको समन्वयमा सम्पन्न गर्ने लगायत काम गर्दै आएको छ । रासस