भरतपुरको ६ स्थानमा “ट्राफिक लाइट” राखिने

२०८२ मङ्सिर १६ मंगलबार १७:१२:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा “ट्राफिक लाइट”  राख्नका लागि सर्भे सुरू गरिएको छ । बढी भीडभाड र सवारी जाम हुने भरतपुरका ६ ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरू गरिएको हो ।

 

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सडक विभागले निर्माण कम्पनीसँग ट्राफिक लाइट जडानका लागि सम्झौता गरिसकेको छ । दुर्घटनाका कारण जोखिमयुक्त रहेको र सवारीसाधन बढी जाम हुने हुँदा पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बसपार्क चोक र मालपोत चोक गरी ६ ठाउँमा ट्राफिक लाइट जडान गरिने छ ।ट्राफिक लाइट राख्ने जिम्मा एभरेष्ट टु सी-अमर ज्योति जेभीले पाएको छ ।


भरतपुर महानगरका इन्जिनियर साकार लामाले निर्माण कम्पनी एभरेष्ट टु सी-अमर ज्योति जेभीबीच सम्झौता भएर सर्भेको काम सुरू भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड आठ लाख रूपैयाँको लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । ट्राफिक लाइटको बजेट सडक विभागले विनियोजन गरेको हो । यतिबेला काठमाडौँमा पनि यही कम्पनीले ट्राफिक लाइट जडान गरिरहेको छ ।


जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख अनिल थापाले ट्राफिक लाइट जडानका लागि पोइन्ट राख्ने ठाउँ फाइनल गरिएको बताउनुभयो ।