गोर्खा वेलफेयरको मनकारी काम नवदुर्गा स्कूलको भवन चिटिक्क

२०७८ असोज १८ सोमबार १९:३३:०० मा प्रकाशित


गैँडाकोट । गोर्खा वेलफेयर ट्रस्ट नेपालको मनकारी कामले नवदुर्गा आधारभूत विद्यालय गैँडाकोट १ को भवन चिटिक्क परेको छ । विद्यार्थीहरु नयाँ भवनमा बस्न पाइन्छ की भनेर फुरुङ्ग समेत बनेका छन् । गोर्खा वेलफेयर ट्रष्टले गत वर्ष माघमा विद्यालय अन्तर्गत तीन कोठे भवन बनाउन सुरु गरेको थियो ।

भवनको गत महिनामात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट समुद्घाटन भएको थियो । मार्गरेट क्रसको सम्झनामा गोर्खा वेलफेयर ट्रस्टद्धारा निर्मित भवनका फोटो देखेपछि क्रसको परिवारको मन फेरि पलायो । सिमान्तकृत बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पुगोस भन्दै गोर्खा वेलफेयर ट्रस्ट मार्फत सोमबार ३ लाख ७६ हजार बराबरको डेस्क बेन्च, पाँच वटा ह्वाइट बोर्ड सहयोग गरिएको ट्रष्टका चितवन शाखा प्रमुख हरि गुरुङले बताउनुभयो । ट्रष्टले नवलपुरका अन्य विद्यालयहरुमा पनि सहयोग गरिरहेको प्रमुख गुरुङको भनाइ छ । 


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन आवश्यक पूर्वाधार विकासमा ट्रष्टको कामले दुरगामी सकरात्मक प्रभाव पार्ने बताउनुभयो । सहयोगी मनहरुप्रति गैँडाकोट नगरपालिकाकै तर्फबाट हार्दिक कृतज्ञता समेत व्यक्त गर्नुभएको थियो । 


गैँडाकोट नगरपालिका वाड नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको प्रवेशले विद्यालयको मुहार फेरिएको बताउनुभयो । सापकोटाले नेराशमा रहेका आपाङ्ग विद्यार्थीहरुका सवालमा पनि ट्रष्टले सहयोग गर्ने आशा देखाउनुभएको हुँदा त्यस प्रति कृतज्ञ रहेको बताउनुभयो । वडा अध्यक्ष सापकोटा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि सापकोटाले विभिन्न सहयोग जुटाएर विद्यालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । 
ट्रष्टको तर्फबाट ३ कोठे भवन निर्माणका लागि १५ लाख, डेस्क बेन्चका लागि ३ लाख ७६ हजार रकम लागेको गोर्खा वेलफेयर ट्रष्टद्वारा सञ्चालित भवन निर्माण समितिका अध्यक्ष केयरसिंह रानाले बताउनुभयो ।

विद्यालय निर्माणका लागि करिब २ लाख स्थानीय जनश्रमदान रहेको समेत रानाले विजय एफएमलाई जानकारी दिनुभयो । ट्रष्टले खानेपानी, स्कूल, पुलहरु, शौचालयहरु ीनर्माणका क्षेत्रमा विभिन्न काम गर्ने गरेको रानाले बताउनुभयो । डेस्कबेन्च हस्तान्तरण कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक शक्ति कंडेलले गर्नुभएको थियो ।